काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रधानमन्त्री ओलीको पक्षमा १८८ मत विपक्षमा ७४ मत र तटस्थमा १ मत परेको छ।
२०७९ साल मंसिर ४ गतेको निर्वाचनपछि नेपालको राजनीतिमा भइरहेको सत्तापलटलाई चुनौति दिन यो सरकार निर्माण भएको ओलीको दाबी रहेको थियो।
गएको असार १७ गते राति चपली हाइटमा भएको कांग्रेस–एमालेबीचको सात बुँदे सहमतिलाई प्रधानमन्त्री ओलीले आज सार्वजनिक गर्नुभएको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश विकासको लागि स्थिर सरकार दिन एमालेसँग मिलेको बताउनुभयो।
प्रतिनिधिसभाको बैठकमा बोल्दै दुई ठूला दल मिलेर बनेको सरकारले देशमा देखिएको अर्थतन्त्रको समस्या समाधान गर्ने उहाँको दाबी थियो । संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूको समर्थन लिएर अघि बढ्ने देउवाको विश्वास थियो ।
नेकपा माओवादी केन्द्रका सांसद बर्षमान पुनले साना दलले नभइ ठूला दलहरुले राजनीतिक अस्थिरता निम्त्याएको दाबी गर्नुभयो। यो समिकरणले संविधान संशोधन गरेर पश्चगमन तर्फ जान खोजेको उहाँको आरोप छ। लामो समयको राजनीतिक अस्थिरतालाई पूर्णता दिनका लागि यो समिकरणको निर्माण भएको कांग्रेस–एमालेको दाबी थियो ।
संविधान संशोधनको मुद्दामा भने सबै दलहरुसँग सहकार्य गर्ने र दुईतिहाई बहुमतकै आधारमा पेलेर नजाने प्रधानमन्त्री ओलीको दाबी थियो । संसदमा प्रतिपक्षीको भूमिकालाई निष्पक्षतासहित शसक्त रुपमा हेर्न चाहेको सत्तापक्षका सांसदहरुको भनाइ थियो ।