काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। आज प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गर्नुभएको विश्वासको मतको पक्षमा दुई तिहाइ मत पाउनु भएको हो।
प्रधानमन्त्री ओलीले संविधानको धारा ७६ को उपधारा (४)बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न प्रतिनिधि सभा नियमावली २०७९ को नियम १५५ बमोजिम प्रस्ताव पेश गर्नुभएको थियो।
उक्त प्रस्तावमाथिको लामो छलफलपछि निर्णायार्थ प्रस्तुत हुँदा कुल उपस्थित २६३ संख्यामध्ये उहाँको पक्षमा १८८ र विपक्षमा ७४ मत परेको हो।
सभामुख देवराज घिमिरेले विपक्षमा मत दिनेभन्दा प्रधानमन्त्रीको पक्षमा मतदान गर्ने संख्या बढी भएको भन्दै सदनबाट प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्नुभएको घोषणा गर्नु भएको हो।
प्रधानमन्त्री नियुक्त भएको एक सातामै प्रधानमन्त्री ओलीलाई नेकपा (एमाले), नेपाली काँग्रेस,जसपा नेपाल, जसपा,लोसपा, नागरिक उन्मुक्ति पार्टी र दुई स्वतन्त्र सांसदले विश्वासको मत दिएका हुन्।
असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बिच भएको सहमति अनुसार ओली असार ३० गते प्रधानमन्त्री नियुक्त हुनुभएको हो।