काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ। आज बसेको प्रदेश सभा बैठकलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री महराले राजीनामा दिनुभएको हो।
मुख्यमन्त्री महराले राजीनामा नदिने बरु विश्वासको मत लिने बताए पनि विश्वास मत नपाउने सङ्केत देखिएपछि उहाँले पदबाट राजीनामा दिनुभएको हो। प्रदेश सभा सचिवालयले साउन ५ गते प्रदेश सभा बैठक र सम्भावित कार्यसूची सार्वजनिक गर्दै विश्वासको मत सम्बन्धी सूचना प्रकाशन गरेको थियो।
केन्द्रमा नेपाली कांग्रेस र नेकपा (एमाले) सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए। सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो।
मुख्यमन्त्री महराले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको बाटो खुलेको छ । केन्द्रमा एमाले र कांग्रेस बिच भएको सहमति अनुसार अब लुम्बिनीको मुख्यमन्त्री एमाले संसदीय दलका नेता लीला गिरी बन्ने बताइएको छ ।
लुम्बिनीमा एमाले–कांग्रेसको समीकरण अनुसार सहज बहुमत जुट्ने छ । एमालेको २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद आवश्यक पर्छ ।