काठमाडौं।सरकारका काम कारबाही चुस्त बनाउन मन्त्रिपरिषद्मा समिति गठन गरिएको छ।हिजो बसेको मन्त्रिपरिषद् बैठकले मन्त्रिपरिषद्को पाँच समिति राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समिति गठन गरी संयोजकको जिम्मेवारी तोकेको हो।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार कार्यक्षेत्रका आधारमा बैठकले उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेललाई महत्वपूर्ण समितिको संयोजकको जिम्मेवारी दिएको छ। राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री सिंह र आर्थिक पूर्वाधार समितिको संयोजकमा उपप्रधान एवं अर्थमन्त्री पौडेललाई संयोजक तोकेको छ।
यस्तै, प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ, सामाजिक समितिको संयोजकमा श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र विधेयक समितिको संयोजकमा गृहमन्त्री रमेश लेखकलाई जिम्मेवारी तोकिएको छ।
मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकारमा नेकपा(एमाले)का उपमहासचिव विष्णु रिमाल र आर्थिक सल्लाहकारमा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई नियुक्त गर्ने निर्णय गरेको छ।
यस्तै,नयाँ दिल्लीमा आयोजना हुने युनेस्को विश्व सम्पदा समितिको ४६औँ बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव डा.गणेशप्रसाद पाण्डेयलाई साउन ६ देखि ११ सम्म सहभागी हुन स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रवक्ता गुरुङले जानकारी दिनुभयो।