काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ ।
सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा आज भएको भेटमा नेपाल(भारत ऊर्जा सहकार्यका विषयमा विविध छलफल भएको मन्त्रालयले जनाएको छ।
भेटमा ऊर्जामन्त्री खड्काले भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट बिजुली निर्यात गर्ने सम्झौता गरिसकेकाले यसलाई सफल कार्यान्वयन गर्न मन्त्रालयले नीतिगत पहल गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।
नेपालबाट भारतीय प्रसारण लाइन प्रयोग गरि पहिलो पटक उत्पादित विद्युत् बंगलादेश निर्यात गर्न नेपाल विद्युत् प्राधिकरण, बंगलादेशको पावर डेभलपमेन्ट बोर्ड र भारतको एनटिपीसी विद्युत् व्यापार निगम लिमिटेडबीच यही जुलाई २८ मा त्रिपक्षीय सम्झौतामा हस्ताक्षर हुने भएकाले मन्त्री खड्काले राजदूतावासलाई निमन्त्रणसमेत दिनुभएको थियो ।
भेटमा राजदूत श्रीवास्तवले मन्त्री खड्कालाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दैै पारस्परिक सहयोग अभिवृद्धिका लागि भारत सरकार तयार रहेको बताउनुभयो । उहाँले विद्युत् व्यापार, थप प्रसारण लाइनको विकास, हरित हाइड्रोजन उत्पादनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।