काठमाडौं। सरकारले बाढीपहिरो एवम् प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको छ।
नवगठित सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा ज्यान गुमाउनेको परिवारलाई राहत उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो।
मन्त्रिपरिषद्को बैठकले विपदका कारण बेपत्ता भई घटना घटेको १० दिनसम्म पनि फेला पर्न नसेका व्यक्तिका परिवारलाई मृतकसरह राहत उपलब्ध गराउनेसमेत निर्णय गरेको छ। मन्त्री गुरुङले पहिलो पटक यस्तो निर्णय गरिएको बताउनुभयो।
साथै बैठकले जाजरकोट भूकम्पबाट प्रभावित परिवारलाई दोस्रो र तेस्रो किस्ताबापतको राहत रकम उपलब्ध गराउनेसमेत निर्णय गरेको मन्त्री गुरुङले बताउनु भयो।