काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रीमण्डलमा दीपक खड्काले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी पाउनुभएको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिका–८, निवामा २०२८ असार १५ गते जन्मिएका खड्का ऊर्जा क्षेत्रका लगानीकर्ता समेत हुनुहुन्छ । ०४२ सालमा संखुवासभाकै अमरुवा माध्यमिक विद्यालयमा पहिलोपटक नेविसंघको तदर्थ समिति गठन गर्दा खड्का अगुवा हुनुहुन्थ्यो । उच्च शिक्षा अध्ययनका लागि काठमाडौँ पुग्नुभएका उहाँ ०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागी बन्नुभयो । उहाँले त्रिभुवन विश्वविद्यालयबाट मानविकी तथा समाजशास्त्र सङ्कायमा स्नातकोत्तर उत्तीर्ण गर्नुभएको छ ।
०६७ सालमा गृह जिल्ला संखुवासभाबाट कांग्रेसको महासमिति सदस्य निर्वाचित हुनुभएका उहाँ २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा संखुवासभा क्षेत्र नम्बर २ बाट निर्वाचित बन्नुभएको थियो । सोही क्रममा उहाँ २०७३ सालमा सुशील कोइराला नेतृत्वको सरकारमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री बन्नुभएको थियो ।
२०७४ सालको निर्वाचनमा भने वाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका एमालेका राजेन्द्र गौतमले खड्कालाई पराजित गर्नुभएको थियो । खड्का पुनः प्रतिनिधि सभाको २०७९ सालको निर्वाचनमा कांग्रेस–माओवादी गठबन्धनबाट निर्वाचित बन्नुभएको हो । खड्काले एमालेका राजेन्दप्रसाद्र गौतमलाई ५ हजार ४३९ मतान्तरले पराजित गर्नुभयो ।
खड्काले ३२ हजार १५८ मत ल्याउँदा एमालेका उम्मेदवार गौतमले भने २६ हजार ७१९ मतमात्रै ल्याउनुभएको थियो । कांग्रेसको १४औँ अधिवेशनमा उहाँ संखुवासभाको जिल्ला सभापतिमा निर्वाचित हुनुभयो ।