काठमाडौं। नवनियुक्त प्रधानमन्त्री खड्गप्रसाद ओली(केपी ओली)ले आज प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ। नवनियुक्त प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिनुभएको छ ।
राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा ओलीले चौथो पटक प्रधानमन्त्री पदको शपथ लिनुभएको हो। ओली संसद्को सबैभन्दा ठुलो दल नेपाली काँग्रेसको समर्थनमा प्रधानमन्त्री बन्नुभएको हो। यसअघि उहाँ २०७८ असार २९ मा प्रधानमन्त्रीबाट बहिर्गमन हुनुभएको थियो।
समारोहमा उपराष्ट्रपति रामसहाय यादव, पूर्व प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायतका विशिष्ट व्यक्तित्व समारोहमा उपस्थित हुनुहुन्छ । प्रधानमन्त्रीको शपथग्रहणका लागि राष्ट्रपति भवनको प्राङ्गणलाई झकिझकाउ बनाइएको छ।