काठमाडौं। नयाँ समिकरणबाट सरकारको नेतृत्वमा पुगेको नेकपा एमालेले यसपटकको नेतृत्वलाई अवसरको रुपमा सदुपयोग गर्ने बताएको छ। एमाले नेता विष्णु रिजालले नयाँ समिकरणमार्फत दुई तिहाइको सरकारको नेतृत्व गर्दै प्रधानमन्त्री बन्नुभएका पार्टी अध्यक्ष केपी शर्मा ओलीले यसअवसरलाई सुवर्ण अवसरका रुपमा सदुपयोग गर्ने बताउनुभएको हो।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँगको कुराकानीका क्रममा नेता रिजालले यसपटक कांग्रेस एमालेको सरकारले मुख्य तीन कुरामा केन्द्रित रहेर जनतालाई डेलिभरी दिने बताउनु भयो।
उहाँले पहिलो बुँदामा सबै साना ठुला दलहरुलाई सहमतीमा ल्याएर संवैधानिक सुधारलाई अगाडी बढाई संविधान संशोधन गर्ने, दोश्रोमा जनतालाई सुशासनको प्रत्याभूती दिलाउने, र तेश्रोमा छिमेकी तथा मित्रराष्ट्रसँगको सन्तुलित सम्बन्ध विस्तार गरी देशको आर्थीक अवस्था सुधार गरी देशलाई निकास दिने बताउनु भयो।
फरक प्रसङ्गमा नेता रिजालले दुई ठुला दल कांग्रेस र एमालेबिच सत्ता सहकार्यकै क्रममा आउन सक्ने अन्तरविरोधलाई समेत ध्यानमा राखेर सचेत रुपमा सहकार्य अगाडी बढाउँदै अहिलेकै सहमतीअनुसार सत्ता समिकरण टुँगोमा पुराइने दाबी गर्नुभयो ।