काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ। उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बिहान ११ बजे विशेष कार्यक्रमका बिच शपथ लिने तालिका रहेको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथमा उपस्थित हुने सांसदलाई सोमबार बिहान साढे १० बजेभित्र शीतल निवास प्रवेश गरिसक्न अनुरोध गरेको छ। राष्ट्रपति कार्यालयका सहसचिव शैलजा रेग्मी भट्टराईले बिहान ११ बजे हुने शपथ समारोहमा उपस्थित हुन सङ्घीय संसद्का सम्पूर्ण सदस्यलाई निमन्त्रण गर्नुभएको हो।
राष्ट्रपति पौडेलले हिजो साँझ एमालेका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएपछि आजका लागि शपथ समारोह तय भएको हो।
शुक्रबार (असार २८ गते) नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको रुपमा सदनबाट विश्वास गुमाउनुभएपछि नेकपा (एमाले)का अध्यक्ष एवम् संसदीय दलका नेता ओली प्रधानमन्त्री बन्नुभएको हो।