एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतीय चुनावको मतगणना रोक्नुपर्ने बताएका छन् । मतगणना जारी रहेकै बेला आफूले चुनावमा जित हासिल गरे पनि धाँधली भएको भन्दै उनले सर्वोच्च अदालत जाने बताएका छन् ।
ह्वाइट हाउसबाट समर्थकहरूलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले आफूले चुनाव जितिसकेको र चुनावमा धाँधली भएको भन्दै सर्वोच्च अदालत जाने बताएका अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
राष्ट्रपति ट्रम्पले चुनावको अन्तिम मत परिणाम आउन अझै बाँकी छँदै चुनावमा धाँधली हुनु अमेरिकी जनतामाथिको धोका र देशप्रतिको अपमान भएको अभिव्यक्ति दिएका छन् ।
‘हामीले चुनाव जितिसकेका थियौं । त्यसैले अब हाम्रो लक्ष्य इमानदारीतालाई जोगाउनु हो । हामी सर्वोच्च अदालत जान्छौं’, उनले भनेका छन् ।
जो बाइडेनले पनि चुनाव आफू जित्ने निश्चित रहेको दाबी गरेको बताएका थिए । उनले यसअघि आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै यस्तो दाबी गरेका थिए ।