काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निलम्बित महामन्त्री मुकुल ढकालले रवि लामिछानेले सहकारीमा जस्तै पार्टीमा पनि आर्थीक अनियमितता गरेको आरोप लगाउनु भएको छ।
आफूमाथि पार्टीबाट भएको कारबाहीपछि पहिलोपटक पत्रकार सम्मेलन गर्दै उहाँले आज लामिछानेमाथि यस्तो आरोप लगाउनु भएको हो। सहकारीमा आरोप लागेजस्तै आर्थिक गतिविधि पार्टीभित्र पनि गरिरहेको बताउँदै ढकालले लामिछानेले पार्टीभित्र अपारदर्शी आर्थिक क्रियाकलाप जारी राखेको बताउनुभयो ।
ढकालले भन्नुभयो, “रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्।“उहाँले लामिछानेमाथि सहकारी र पासपोर्ट प्रकरणमा पनि छानबिन गर्न उच्चस्तरीस्य समिति गठनको मागसमेत गर्नुभयो । सर्वोच्च अदालतले नै अनुसन्धान गर भनेकाले पार्टीले पनि छानबिन समिति गठन गर्नुपर्ने उहाँको भनाई छ।
उहाँले भन्नुभयो,“हिजो उहाँ (रवि लामिछाने)ले आफूले कुनै सहकारीबाट ऋण लिएको छैन र आफूविरुद्ध जाहेरी पनि छैन भनिरहनुभएको थियो,तर सर्वोच्च अदालतले उहाँमाथि गम्भीर प्रश्न उठाएको छ।त्यसकारण पार्टीबाटै उच्चस्तरीय समिति बनाएर उहाँमाथि छानबिन गर्नुपर्छ ।”
ढकालले पासपोर्टका विषयमा पनि पार्टीबाट छानबिन हुनुपर्ने बताउनु भयो। रविसँग दुईवटा पासपोर्ट रहेको उहाँले आरोप लगाउनुभयो ।