काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली काङ्ग्रेससँग संविधान संशोधन गर्न आयोग बनाउने कुनै सहमति नभएको बताउनुभएको छ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकलाई सम्बोधन गनुहुँदै उहाँले संविधान संशोधनका लागि कांग्रेस र एमालेबिच आयोग बनाउने सहमति नभएको बताउनुभएको हो।
उहाँले अनुभवबाट प्राप्त परिवर्तन, परिमार्जन, सुधार आवश्यक भए त्यसमा आधारित रहेर संविधान संशोधन गर्ने सहमति भएको जानकारी दिनुभयो। उहाँले निश्चित बुँदा तोकेर निष्कर्षमा नपुगेको पनि बताउनुभयो। उहाँले आयोग कसैको नेतृत्वमा पनि नबनेको उल्लेख गर्नुहुँदै आयोग बन्ने भन्ने कुरा नभएको जिकिर गर्नुभयो।
‘‘अनुभवहरूले के कस्ता परिवर्तन,परिमार्जन,सुधार आवश्यक छन्,त्यसमा आधारित भएर संशोधन गर्ने हो। यो यो बुँदामा भन्ने निष्कर्षमा पुगिसकेका छैनौँ।कसैको नेतृत्वमा आयोग बनेको छैन।कसैको नेतृत्वमा आयोग बन्ने भन्ने कुरा केही पनि भएको छैन।मोटामोटी के भएको हो भने राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति जे आवश्यक पर्छ त्यो संशोधन गर्ने भनेको हो।’’
अध्यक्ष ओलीले भन्नुभयो,‘‘एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकतातिर गयो, अन्योलतिर, अस्थिरताको स्थितितर्फ जाने भन्ने कुरा भ्रम फैलाउनका लाििनएका हुन्।’’अध्यक्ष ओलीले राष्ट्रिय हितहरूको रक्षा संवर्द्धन गर्नका निम्ति र समृद्ध नेपाल, सुखी नेपाली बनाउनका निम्ति आवश्यक संशोधन हुने उल्लेख गर्नुभयो।
उहाँले एमाले र नेपाली कांग्रेस मिल्दा संविधान अराजकता,अन्योल र अस्थिरतातिर गएको भन्ने कुरा भ्रम फैलाउनका लागि बोलिएको बताउनुभयो । उहाँले प्रदेशहरूमा महिना दिनमा सरकार बनाउने, अस्थिरता निम्त्याउने, बार्गेनिङ गर्ने, निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर अस्थिरता निम्त्याउने क्रमलाई रोक्न एमाले र कांग्रेस मिलेको बताउनुभयो।
उहाँले विकास निर्माण र जनताका आवश्यकता तथा कामलाई केन्द्र भागमा नराख्दा भ्रष्टाचारतिर देशलाई लैजाने काम भएपछि आफूहरू मिलेको बताउनुभयो। उहाँले स्वार्थलाई अग्र भागमा भएको र सङ्घीयतालाई सफल बनाउने दिशामा नगएकाले समीकरण फेर्नुपरेको बताउनुभयो । उहाँले संविधानप्रतिको ओठेभक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य नहुने चेतावनी दिनुभयो।
‘‘प्रदेशहरूमा महिना महिनामा सरकार फेरिने अवस्था बन्ने, कहिले यसकातिर, कहिले उसकातिर जाने, यस्ता खालका अस्थिरता, बार्गेनिङ, आफ्ना निजी र दलगत स्वार्थलाई केन्द्र भागमा राखेर जाने काम भयो। विकास निर्माणलाई केन्द्र भागमा नराख्ने, जनताका आवश्यकता, कामलाई केन्द्र भागमा नराख्ने, यसरी विभिन्न ढङ्गले करप्शनमा, अस्थिरतामा यस्तोमा जाने काम भयो। स्वार्थमा काम गर्ने।’’
अध्यक्ष ओलीले भन्नुभयो,‘‘स्वार्थलाई अग्र भागमा राख्ने यस प्रकारका कामहरू देखिएका छन्। यसलाई कसरी रोक्ने? सङ्घीयतालाई सफल बनाउने दिशामा जानुपर्छ नि। त्यो पक्षमा विचार नै नगर्ने, खालि संविधानप्रतिको ओठे भक्ति देखाएर संविधानलाई व्यवहारमा असफल बनाउने खालका प्रयास स्वीकार्य हुन सक्दैनन् ।’’
अध्यक्ष ओलीले संविधान गतिशील, समाजको पथप्रदर्शक भएकाले संविधानको समयानुकूल परिमार्जन हुने बताउनुभयो।