काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा लक्षित एक टिप्पणी गर्नुभएको छ। रास्वपाका महामन्त्री मुकुल ढकाललाई हिजो पदमुक्त गरिएकोबारे कटाक्ष गर्दै आज शर्माले सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नु नपर्ने भन्दै व्यङ्य गर्नुभएको हो।
शर्माले कांग्रेसमा प्रश्न र आलोचनालाई सहजै ग्रहण गर्ने उल्लेख गर्दै भन्नुभयो,‘कांग्रेस राम्रोसँग चलेको छैन। बलियो र विजयी बन्न हामीले ढङ्ग बदल्नैपर्छ । यति सत्य बोल्दा कांग्रेसमा कसैले कारबाही भोग्नुपर्दैन।’
उहाँले प्रश्न र विरोध सहज ग्रहण गरेरै कांग्रेस जीवन्त रहेको दाबी गर्नुभयो। शर्माले भन्नुभयो,‘प्रश्न,आलोचना र विरोध सहज ग्रहण गरेरै, त्यो युगदेखि यो समयसम्म काँग्रेस जीवन्त छ ÷ रहिरहनेछ। रुपान्तरणको संकल्प कार्यान्वयन गर्दै बढ्छौं हामी।’
रास्वपाको हिजो बसेको केन्द्रीय समितिको बैठकले ढकाललाई पार्टीको सम्पूर्ण जिम्मेवारीबाट हटाउने निर्णय गरेको थियो। निलम्बनमा परेपछि ढकालले आज ३ बजे पत्रकार सम्मेलन गर्दै हुनुहुन्छ।