काठमाडौं। नेपाली उखान छ, मिलेपछि चाटाचाट, टुटेपछि काटाकाट! बेलाबखत नेपालको राजनीतिमा यस्तै भइरहेको छ। फागुन २१ गते घाँटी जोडेका नेकपा एमाले र नेकपा माओवादी केन्द्र अहिले एकअर्काको पोल खोलाखोल गरिरहेका छन्। पटकपटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट धोका पाएका कांग्रेस र एमाले एकठाउँमा उभिँदा माओवादी केन्द्रभित्र त्रास पैदा भएको छ।
सरकारले दुई तिहाई पुर्याउने लक्ष्य लिएकोले प्रचण्डलाई थप बेचैन तुल्याएको छ।संसदमा समेत एमाले र कांग्रेसले प्रधानमन्त्रीलाई मार्ग प्रशस्त गर्न अनुरोध गरिरहेका छन्। अहिलेको सहकार्यले मुलुकको संकट मोचन गर्ने एमाले प्रमुख सचेतक महेश बर्तौलाको दाबी छ ।
नेकपा माओवादी केन्द्रले कांग्रेस–एमालेको सहकार्य दीघार्यू नहुने दाबी गरेको छ। विपरित दुई ध्रुवका दलहरुबीचको सहमति सत्ता र शत्तिका लागि मात्रै रहेको माओवादी सांसद पूर्ण घर्तीको दाबी छ। एमाले माओवादी मिलेर मुलुकलाई निकास दिने विषयमा विगतमा भएको सहमतिलाई सम्झिँदै घर्तीले यो अपवित्र मिलनको दिगोपन नरहेको दाबी गर्नुभयो ।
रास्वपाका सांसद डा. स्वर्णिम वाग्लेले बेचन झाको पक्राउ प्रकरणले कांग्रेस एमाले अत्तालिएको दाबी गर्नुभयो। उनको पक्राउले दुवै दललाई अनुसन्धानको दायरामा ल्याउने देखिएपछि सिंगै समिकरण परिवर्तन गरिएको उहाँको दाबी छ।
कांग्रेस एमालेको गठबन्धनले वैकल्पिक सरकार बन्ने स्थितिको अन्त्य हुने राजनीतिक विश्लेषकहरुको दाबी छ। राजनीतिक विश्लेषक प्राडा गोविन्दमानसिंह कार्कीले ससाना दलहरुको अस्थिरताले आजित राजनीतिले स्थायित्व पाउने कार्कीको विश्वास छ।
साना दलहरुले च्याखे थाप्ने प्रवृत्तिको अन्त्य गरी दुई दलीय प्रणालीको विकास हुनुपर्ने आम नागरिकको तर्क रहेको छ। अहिले बनेको कांग्रेस–एमालेको समिकरणले संविधान संशोधनदेखि समानुपातिक प्रणालीको अन्त्य गर्न जरुरी देखिन्छ।