काठमाडौं। सत्ता समीकरणमा समझदारी गर्दै आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेका नेपाली कांग्रेस र नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गरेका छन् ।
दुई ठूला दल मिलेर सरकार बनाउने सहमति भएसँगै दुवै दलको संसदीय दलको बैठकले प्रचण्डलाई विश्वासको मत नदिने निर्णय पनि लिएका छन् ।प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने तयारी गर्नुभएको छ। यही असार २८ गते प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मत लिने तय पनि भएको छ।
प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत लिए विश्वासको मत नदिने एमाले संसदीय दलले निर्णय गरेको छ।अल्पमतमा परेर सरकार कामचलाउ भइसके पनि मन्त्रिपरिषदबाट विभिन्न निर्णय गरिरहेको भन्दै एमालेले कुनै पनि निर्णय नगर्न सचेत समेत गराएको छ।
कांग्रेस एमालेले प्रधानमन्त्री प्रचण्डको राजिनामा मागिरहेको अवस्थामा नेकपा माओवादी केन्द्रले कसैले माग्दैमा प्रचण्डको राजीनामा नआउने बताएको छ। नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहाल सरकारमा सहभागी दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको बताउनुहुन्छ।
प्रधानमन्त्री संवैधानिक प्रावधान अनुसार नै अगाडि बढ्ने भन्दै दाहालले कसैले चाहँदैमा राजीनामा नआउने बताउनु भयो। असार २८ गते विश्वासको मत लिने प्रक्रियासम्म पर्खिन उहाँले आग्रह गर्नुभएको छ।साथै प्रधानमन्त्रीलाई नैतिकताको पाठ नसिकाउन पनि उहाँको आग्रह छ।
सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले कांग्रेस र एमालेबीच भएको सहमति सार्वजनिक गर्न चुनौती पनि दिएको छ। माओवादी सांसद माधव सापकोटाले दुई दलबीच भएको भनिएको सम्झौता अपारदर्शी र अनैतिक रहेको बताउनुभयो।
माओवादी सांसद सापकोटाले दुई ठूला दल मिलेर राजनीतिक स्थिरता दिन खोजिएको भन्ने दाबी गलत रहेको भन्दै गिरिबन्धु टी स्टेट र बेचन झा पक्राउ प्रकरणले आत्तिएर मिलेको आरोप समेत लगाउनु भएको छ।
सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले यही असार २८ गते शुक्रबार विश्वासको मत लिने जानकारी संसद्लाई गराउनु भएको छ। सरकारमा रहेको सबैभन्दा ठूलो दल एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहनुभएका प्रधानमन्त्री प्रचण्डले शुक्रबार संसद् सचिवालयलाई पत्रमार्फत विश्वासको मत लिने जानकारी गराउनु भएको थियो।
यस अघि प्रधानमन्त्रीले ४ पटकसम्म विश्वासको मत लिइसक्नु भएको छ। तर यसपटक प्रमुख सत्ता सहयोगी एमालेले नै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीलाई विश्वासको मत पाउन भने कठिन देखिएको छ ।
कांग्रेस र एमालेले यही असार १७ गते सत्ता समीकरणमा समझदारी गर्दै आलोपालो सरकारको नेतृत्व गर्ने निर्णय गरेका हुन्। पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने दुई दलबीच समझदारी भएको छ ।