काठमाडौं । दुई ठुला दल कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण हुने हल्लाले नेपालको राजनीतिमा तरंग सिर्जना गरेको छ । कांग्रेसले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न गरेको प्रस्ताव र त्यसमा एमालेको सकारात्मक प्रतिक्रियाले नयाँ ध्रुवीकरणको वातावरण बनेको हो । लामो समयको तिक्ततापछि सघन छलफल भएको भन्दै दुवै दलका नेताकार्यकर्ताहरू उत्साहित छन् । कांग्रेसले एमाले अध्यक्ष ओलीलाई पहिलो चरणमा प्रधानमन्त्री स्विकार्न तयार भएको बताइएको छ । नेपाली कांग्रेसका सांसद दीपक गिरिले दुई ठुला दलहरू मिल्ने विषयले उत्साह पैदा गरेको बताउनुभयो । अहिलेको आवश्यकतालाई मध्यनजर गरेर दुई नेताहरू बसेको उहाँको दाबी छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच तीन पटकसम्म भएको बैठक निष्कर्ष उन्मुख रहेको बताइएको छ । दुई दलबीच ‘पावर सेयरिङ’ लाई लिएर घनिभूत कुराकानीहरू भइरहेका छन् । तर, अहिलेसम्म सबै भेटघाटहरूलाई गोप्य राखिएको छ । दुवै पार्टीका सीमित नेतामात्रै छलफलमा सक्रिय बनेका छन् । यता, माओवादी केन्द्रका सांसद माधव सापकोटाले पछिल्लो समय आएको राजनीतिक तरंगजस्तै सजिलै सत्ता परिवर्तन सम्भव नरहेको बताउनुभयो । दुईजना नेता बस्ने बित्तिनै सत्ता उलटफेर हुनु अस्थिरताको पराकाष्ठा हुने उहाँको दाबी छ ।
राजनीतिक विश्लेषक प्राडा प्रेम शर्माले गठबन्धन बन्ने भत्किने प्रक्रिया सामान्य रहेको बताउनुभयो । जस्तोसुकै समीकरण बने पनि जनताले राहतको सास फेर्न मुस्किल हुने उहाँको दाबी छ ।
कांग्रेस र एमाले मिल्न लागेको थाहापाएसँगै प्रधानमन्त्री प्रचण्ड आत्तिएका छन् । एमालेलाई प्रधानमन्त्री दिनको साटो देउवालाई नै प्रधानमन्त्री दिन प्रचण्ड इच्छुक रहेको बुझिएको छ । स्रोतका अनुसार कांग्रेस, माओवादी र रास्वपासहितको अर्को समीकरण बालुवाटार गएपनि कांग्रेस यसमा सकारात्मक भएन । संसद्को बाँकी साढे तीन वर्षको अवधिमा एमाले र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने गरी समझदारी बन्न लागेको छ ।