काठमाडौं। नेकपा एकिकृत समाजवादी पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टीको आगामी नेतृत्व सहमतीमै टुँगो लाग्ने बताउनु भएको छ। नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै उहाँले जारी दशौं महाधिवेशनमा आगामी नेतृत्वका लागी शिर्ष तीन नेताहरुको आकांक्षा रहेपछी अन्त्यमा सहमतीमै टुँगिने बताउनु भएको हो।
पाण्डेले तत्कालीन समयमा संसद विघटनपछी पार्टी विभाजनसम्म पुग्दा आम कार्यकर्तासँगै संविधान र लोकतान्त्रीक व्यवस्थाको रक्षाका लागी आँफुहरुले पार्टी विभाजन गरेको भन्ने कुरा पुष्टी भैसकेको उहाँले दाबी गर्नुभयो। यसमा एमाले अध्यक्ष ओलीले यो कुरा मान्न तयार नहुनु र संसद विघटन नै ठिक थियो भन्ने कुराको पुष्टी गर्न हिड्नु लज्जास्पद रहेको टिप्पणी गर्नुभयो।
पाण्डेले वर्तमान अवस्थामा अन्य पार्टीसँग सहकार्यको अबस्थाभन्दा माथी उठेर पार्टी एकतामै पुग्न सक्ने कुनैपनि अबस्था नरहेको बताउनुभयो। अहिले सत्ता उथलपुथलको सम्भावना बढेको हो? भन्ने प्रश्नको जवाफ दिँदै पाण्डेले अहिलेको गठबन्धन पनि कुनैपनि इमान्दारीतामा नबनेको गठबन्धन भएकोले त्यो सम्भावना पनि कायमै रहेको बताउनु भयो।
एमाले, काँग्रेस र माओवादीले आफ्ना कर्तुत जोगाउन जे पनि गर्न तयार हुने भएकोले पछिल्ला गतिविधीले केही न केही खिचडी पाक्ने सम्भावना रहेको बताउनुभयो। यतिबेला बढेको एमाले कांग्रेसको निकटताले भोली बिहान सहकार्य र सरकार बनाउने अवस्था आएको खण्डमा दुर्भाग्य हुने बताउनुभयो। यदि एमाले र कांग्रेस मिलेर सरकार बनेको खण्डमा त्यो अपवित्र गठबन्धनले जनतामाथी धोका हुने र देश झनै संकटको दलदलमा फस्ने टिप्पणी गर्नुभयो।