काठमाडौं। नेकपा एकीकृत समाजवादीको आसन्न महाधिवेशनमा नेताहरुको दौडधुप बढेको छ। पार्टीको आकार सानो भएपनि पदाधिकारीहरुको पदमा धेरैको आकांक्षा पलाएपनि महाधिवेशनको सरगमी बढेको हो।
पार्टीले असार १६ गतेदेखि २० गतेसम्म काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा पहिलो महाधिवेशन गर्दैछ। नयाँ नेतृत्वमा अध्यक्ष माधवकुमार नेपालले दोहोरिन चाहेपनि सम्मानित नेता झलनाथ खनालको समर्थनमा महासचिव घनश्याम भुसालले जबरजस्त दाबेदारी प्रस्तुत गर्नुभएको छ।
नेपाललाई सहयोग गर्नका लागि पार्टी प्रवक्ता जगन्नाथ खतिवडादेखि प्रमुख सचेतक मेटमणि चौधरीसम्म ढालजस्तै उभिएका छन्। नेपालको संसदीय राजनीतिमा राष्ट्रिय पार्टी बन्न नसकेको एकीकृत समाजवादीको महाधिवेशन तामझाम भने रोचकनै देखिएको छ।
इलामबाट नमिठो निर्वाचन पराजयको घाउ बिर्सिन नसकेका सम्मानित नेता झलनाथ खनालले माधव नेपाललाई आफूले टक्कर दिन नसक्ने भएपछि पार्टी महासचिव भुसाललाई अगाडि सार्ने निश्चित भएको छ।
यसअघि खनाल पनि अध्यक्षको उम्मेदवार रहेतापनि उनकै निजी नवास डल्लुमा भएको छलफलमा मिलेर जाने सहमति भएको छ। खनाल र भुसाल एक ठाउमा आएमा अध्यक्ष नेपाललाई भुसालले अध्यक्षमा चुनौती दिनसक्ने बुझिएको छ।
औपचारिक रुपमा खनालले भुसाललाई समर्थन गरेको जानकारी नदिएपनि उहाँले भुसाललाई अगाडि सार्ने रणनीति बनाएको बुझिएको छ। पार्टीका उपाध्यक्ष घनेन्द्र बस्नेतले युवाको काँधमा नेतृत्व आवश्यक रहेको दाबी गर्नुभयो।
करिब एक हजार चार सय महाधिवेशन प्रतिनिधि पार्टीको तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित गरिएको जनाइएको छ। महाधिवेशन आयोजक समितिका ४५० केन्द्रीय नेतालाई स्वतः महाधिवेशन प्रतिनिधि छनोट गरिएको छ।
कुल एक हजार ८४९ महाधिवेशन प्रतिनिधिको व्यवस्था गरिएकामा त्यसको पाँच प्रतिशत अर्थात् ९५ प्रतिनिधि मनोनयन गरिने बताइएको छ। पार्टीको वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रममा पारित गर्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।