काठमाडौं। प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट बहुमतले पारित भएको छ। आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले बजेट बहुमतले पारित भएको घोषणा गर्नुभएको हो ।
अर्थमन्त्री वर्षमान पुनले गत जेठ १५ गते आगामी आर्थिक वर्ष २०८१/८२ को लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट प्रस्तुत गर्नुभएको थियो । बजेट पारित पूर्व मन्त्रालयगत छलफल भएको थियो ।
बजेटमा सत्तापक्षकै सांसदहरुको असहमति रहेपनि आज एमालेले सांसदहरुलाई पक्षमा मतदान गर्न ह्वीप लगाएको थियो । आजै संसदमा सांसदहरुले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समेत जवाफ दिनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले यो देशमा प्रधानमन्त्री झण्डावाला गाडी हल्लाउने मात्रै छन्, जनताका सेवक छैनन् भन्ने प्रश्नमा प्रचण्डले आक्रोशित मुद्राको जवाफ दिनुभयो ।
नेपाली कांग्रेसका सांसद एवं पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले बीआरआई कार्यान्वयनको विषयलाई उठाउनुभएको थियो । बीआरआई कार्यान्वयनमा अनुदानको हिस्सालाई बढी प्राथमिकता दिने प्रधानमन्त्रीको जवाफ थियो ।
विभिन्न सांसदले उठाएका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले सरकार सुशासनको पक्षमा कटिवद्ध रहेको बताउनुभयो। उहाँले भारतसँग सीमा विवादको विषयमा पनि पटकपटक छलफल भएको दाबी गर्नुभयो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सीमा विवाद सुल्झ्याउन तयार रहेको उहाँको भनाइ थियो।
स्वतन्त्र सांसद अमरेशकुमार सिंहले राजदूत नियुक्तिमा सरकारको नियतबारे प्रश्न गर्नुभयो । पूर्व अवकाश प्राप्त कर्मचारीबाहेक अन्यलाई नियुक्ति गर्न किन नहुने उहाँको भनाइ थियो । नेताहरुको चाकडी गरेकालाई मात्रै राजदूत बनाउने गरेको उहाँको आरोप थियो ।
अर्थमन्त्री पुनले बजेट कार्यान्वयनका केही चुनौति भएपनि यसलाई सहज ट्रयाकमा ल्याउन सबैको महत्वपूर्ण भूमिका रहनुपर्ने बताउनुभयो ।
बजेट पारित पूर्व अर्थमन्त्री पुनको कार्यशैलीप्रति आलोचना समेत भएको छ । माओवादी केन्द्रकै नेताहरु पनि पुनप्रति सन्तुष्ट छैनन् । बजेटको आकार अनुसार कार्यान्वयन गर्न पनि उत्तिकै चुनौति रहेको छ ।