काठमाडौं। गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा अर्बौँ रकम हिनामिना गरेर फरार रहेका जीबी राईको विषयमा दिएको अभिव्यक्ति पुनः विवादमा आएको छ। गृहमन्त्री लामिछानेले केही दिनअघि जीबी राईको लोकेसन पत्ता लागेको अभिव्यक्ति दिनुभएको थियो।
लामिछाने र राई गोर्खा मिडिया सञ्चालनका बखत मित्र हुन् । दुवैको सहमतिमा तामझामका साथ ग्यालेक्सी टेलिभिजन सञ्चालनमा आएको थियो। यद्यपि, अहिले टेलिभिजनको दुरावस्था छ भने कर्मचारीहरुको विचल्ली बनेको छ । गृहमन्त्रीले प्रतिपक्षीमा रहँदा जीबी राईलाई पक्राउ गर्न नसक्नु सरकारको निरिहता रहेको अभिव्यक्ति दिँदै आएका थिए।
आजको प्रतिनिधिसभा बैठकमा कांग्रेसका महामन्त्री एवं सांसद विश्वप्रकाश शर्माले गृहमन्त्रीको पहिलेको भनाइलाई स्मरण गराउनुभएको थियो। साथै जीबीको लोकेसन पत्ता लागेको भन्दै लामिछानेले उनलाई भगाउन खोजेको हो भन्दै प्रश्न पनि गर्नुभयो।
जीबी मलेसिया लुकेर बसेको भन्ने सूचना नेपाल प्रहरीसँग छ।उनलाई पक्राउ गर्नका लागि इन्टरपोलमार्फत् डिफ्युजन नोटिस समेत जारी भइसकेको अवस्था छ। केही समय अगाडि राज्य, व्यवस्था तथा सुशासन समितिमा नोपल प्रहरीका आईजीपी बसन्त कुँवरले उनलाई पक्राउ गर्न मलेसियासँग सुपुर्दगी सन्धी नभएको बताउनुभएको छ।
नेपाल प्रहरीका पूर्व डिआईजी हेमन्त मल्लले कुनैपनि आरोपीलाई पक्राउ गर्न सुपुर्दगीको आवश्यकता नरहने र यसभन्दा अघि पनि धेरै अपराधीलाई पक्राउ गरेर ल्याइएको बताउनुभयो ।
राजनीतिक विश्लेषक मुमाराम खनालले आफूले गरेका गल्ती लुकाउनबाहेक गृहमन्त्रीबाट धेरै आशा गर्न नसकिने बताउनुभयो। गृहमन्त्री बोल्ने भन्दापनि काम गर्ने भूमिकामा रहेकोले आरोपीलाई पक्राउ गर्नसक्नुपर्ने खनालको तर्क छ।
हल्लैहल्लामा चलिरहेको देशमा वास्तविक कुरा लुकाउनका निम्ति धेरै स्टण्ट हुने गरेका छन्। समृद्धिको नारा लिएर आएको रास्वपामाथि पनि धेरै प्रश्नहरु तेर्सिन थालेका छन्। सहकारी मुद्धाकै कुरा गर्दा राप्रपाकी सांसद गीता बस्नेतलाई पक्राउ पूर्जी जारी हुँदा गृहमन्त्रीलाई चयन छ । संसदीय छानबिन समितिमाथि पनि विभिन्न शंसय पैदा भएका छन् ।