काठमाडौं । लामो समयको राजनीतिक परिवर्तन र व्यवस्थाका बाबजुद पनि नेपालको विकास र समृद्धिले गति नलिँदा नेतृत्वमाथि विभिन्न प्रश्नहरू तेर्सिन थालेका छन् । असल राष्ट्र निर्माणको विषयमा कहीँ कतै बहस नहुँदा र भएपनि कार्यान्वयनमा नआउँदा विकासको गति कमजोर बन्दै गएको छ ।
राज्य चलाउन ऋण काढ्नुपर्ने र त्यसको ब्याज तिर्न पनि ऋण काढ्नुपर्ने नेपालको बाध्यता रहेको छ । देशको उँधो गति हुँदा पनि राजनीतिक दल र तीनका नेताहरू स्विकार्न तयार छैनन् । बहालवाला नेता र उनीहरूका परिवारका लागि सबैतिर सुनौलो दृश्य भएतापनि आम नेपालीको अँध्यारो चिर्न सकिएको छैन । नेकपा एमालेका सांसद ऋषिकेश पोखरेलले मुलुकमा राम्रा मान्छेहरू पनि भएकोले जनताका माझमा गरेका प्रतिबद्धतालाई मात्रै पूरा गर्न सके विकासले गति लिने बताउनुभयो ।
मुलुक सबैतिर बिग्रियो भन्नु सत्य नभएको नेताहरू दाबी गर्छन् । नेपाली कांग्रेसका नेता गोविन्द पोखरेलले आशा गर्ने धेरै बाटाहरू रहेको बताउनुभयो । मानव जीवनदेखि शिक्षा स्वास्थ्यमा देखिएको परिवर्तनलाई नजरअन्दाज गर्न नमिल्ने उहाँको भनाइ छ । यो मुलुकमा बढी कम्युनिष्टहरूले शासन गरेकोले सोचेअनुरूप विकास हुन नसकेको उहाँको आशय छ ।
राज्यका विभिन्न अङ्गहरूमा विकृति, विसङ्गति विद्यमान छ । भ्रष्टाचारले जरो गाडेको छ । हरेक क्षेत्रमा कार्यरत कर्मचारीहरूको मनमा समेत लोभ पलाउँदा र सुम्पिएको जिम्मेवारी पूरा नहुँदा विभिन्न समयमा समस्या निम्तने गरेको छ । राजनीतिक विश्लेषक महेश भट्टराईले गूड नेशनका लागि बहसै हुन नसकेको दाबी गर्नुभयो ।
राष्ट्र बनाउनका लागि इच्छाशक्ति र आशक्तिको आवश्यकता पर्दछ । सत्ता र पदमा पुगेका कसैले पनि यसमा काम गर्न सकेका छैनन् । एकले अर्कालाई डाम्ने प्रवृत्ति र व्यवस्थाका कारण समेत मुलुक जहिले अस्थिरताको भुमरीमा पर्ने गरेको छ ।