काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्रीसँग विगतमा दुई देशबीच भएका सन्धि र सम्झौताको प्रभावकारी कार्यान्वयनबारे छलफल भएको बताउनु भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन जानुभएका प्रधानमन्त्री प्रचण्डले त्यस क्रममा भारतीय राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र अन्य क्षेत्रका व्यक्तिहरूसँग भएका छलफलबारे बताउनु भएको हो ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमण र राष्ट्रपति रामचन्द्र पौडेलको स्वीजरल्यान्ड र जर्मनी भ्रमणको विषयमा जानकारी गराउनुभयो।
प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणका क्रममा मोदीसँग विभिन्न विषयमा छलफल भएको बताउनुभयो।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएको पनि प्रचण्डले जानकारी दिनुभयो । उहाँले भारतीय प्रधानमन्त्री मोदीले उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताउनुभएको छ ।
यसैबिच, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुने स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्रीले टिकापुरमा जनधनको अपुरणीय क्षति भएको बताउनुभयो।
थारुलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तिकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।