काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले फजुल खर्च बढाएर राज्यमाथी दायित्व थोपरेको टिप्पणी गरेको छ। नेता गोविन्द पोखरेलले संघदेखी प्रदेश सरकारसम्म नै अनावश्यक पुर्वाधार निर्माण गरेर देशलाई ऋणको दलदलमा फसाएको आरोप लगाउनु भएको हो ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषी धमलासँग कुराकानी गर्दै नेता पोखरेलले संघ र प्रदेश सरकारले ऋण खोजेर भ्यु टावरजस्ता उपलब्धीबिहिन पूर्वाधारमा लगानी गर्दा राज्य थप दायित्वको दलदलमा फसेको बताउनु भयो। जसकारण देशको अवस्था स्वास्थ्य, शिक्षा, जस्ता आधारभुत आवश्यकता पनि ऋण खोजेर पुरा गर्नुपर्ने अवस्थामा पुगेको तर्क गर्नुभयो।
उहाँले सरकारले आगामी आर्थीक वर्षका लागी बजेट ल्याउँदै गर्दासमेत यी समस्या सम्बोधनमा ध्यान दिन नसकेको बताउनु भयो। सरकारले बजेटमा दिनानुदिन बढ्दै गएको युवाशक्ति विदेश पलायनलाई रोक्ने र दाताबाट ल्याएको ऋण तिर्ने योजना ल्याउनुपर्नेमा उल्टै ऋण मात्रै थप्ने योजना ल्याएर तिर्नै नसक्ने अवस्थाको सृजना हुनु दुखःद रहेको बताउनुभयो।
सरकारले सडक पुर्वाधार निर्माणमा चासो नै दिन नसक्दा र ठेकेदार कम्पनिलाई ताकेता गर्न नसक्दा बुटवल नारायणगढ, मुग्लिङ पोखरा जस्ता मुख्य सडक स्तरोन्नती अलपत्र बनेका र यसले गर्दा कृषी क्षेत्रसमेत प्रभावित बनेको बताउनुभयो। यिनै सडकको दुरावस्थाले कृषि उत्पादनले बजार पाउन नसकेको तथा कृषक नै पलाएन हुने अबस्था सृजना भएकोले यसतर्फ ध्यान दिन नसकेर सरकार चुकेको पोखरेलले बताउनुभयो।