काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीलाई विभाजनमा जान नदिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले फेरि एकपटक अर्का अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्नुपर्ने बताउनुभएको छ ।
आज बिहान आफ्नै निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले पार्टीभित्र देखिएको मतभिन्नतालाई अन्त्यगरी एकता कायम राख्न पनि अध्यक्ष प्रचण्डले नै संवादका लागि पहल गर्नुपर्ने बताउनुभएको हो ।
आइतबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष ओलीसँगको भेटवार्तामा भएको कुराकानीको ब्रिफिङ गरेपछि आफूहरुले पार्टी एकतालाई कुनै पनि अवस्थामा बचाउन फेरि एकपटक संवाद गर्नुपर्ने सुझाव दिएको उहाँको भनाइ छ ।
नेता श्रेष्ठले हिजो साँझको ब्रिफिङपछि अहिलेसम्म अध्यक्ष प्रचण्ड र ओलीबीच कुनै संवाद हुन नसकेको पनि बताउनुभयो ।
ब्रिफिङमा प्रचण्डले दुई अध्यक्षबीचको संवादमा प्रधानमन्त्री ओलीले अब कुनै पनि कमिटीको बैठक गर्नुको औचित्य नरहेको भन्दै सल्लाहमै औपचारिक रुपमा अलग भएर काम गरौं भन्ने प्रस्ताव राख्नुभएको बताएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभएको छ ।