काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले बजेटमा विभेद गरेको बताउनु भएको छ ।
कर्णालीलाई बजेटमा अपमान गरिएको उहाँको भनाई छ। भौतिक पूर्वाधार मन्त्रालयले धनुषामा ८ अर्ब ७७ करोड र झापामा ६ अर्ब ७० करोड गरेर दुइटा जिल्लामा मात्रै १५ अबै ४७ करोड विनियोजन भएको उल्लेख गर्दै उनले सिंगो कर्णालीमा भने ७ अर्ब ४८ करोड विनियोजन भएको बताउनुभयो।
यसैगरि, नेपाली कांग्रेसका सांसद हृदयराम थानीले कर्णाली प्रदेशमा सडक निर्माणका लागि बजेट नछुट्याए संसद् भवन घेराउ गर्ने चेतावनी दिनुभयो । बैठकको आकस्मिक समयमा बोल्दै सांसद थानीले सरकारले कर्णाली प्रदेशका विभिन्न सडकहरू स्तरोन्नतिका लागि बजेट नछुट्याएको भन्दै आपत्ति जनाउनुभएको हो ।
यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवनलशमशेर राणाले यो वर्षको वर्षायाममा अत्यधिक वर्षा हुने पूर्वानुमान भएकाले बाँकेको डडुवाका जनतालाई बचाउन लक्ष्मणपुर बाँधका ढोका खोल्न पहल गर्न माग गर्नुभयो।
बैठकमा बोल्दै सांसद राणाले राप्ती खोलामा केही वर्षअघि भारत सरकारले डीपीआर गरेर तटबन्ध लगाउने कुरा सुनिश्चित भएको भन्दै त्यो कुरा कहाँ हरायो भनेर खोजी गर्न सरकारलाई आग्रह गर्नुभएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिनिधिसभाको रोष्ट्रमममै भौतिक पूर्वाधार मन्त्रालयको बजेट पुस्तिका च्यात्नु भएको छ ।
आज प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथिको छलफलमा भाग लिँदै उनले बजेट पुस्तिका च्यात्नु भएको हो ।
लिङ्देनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा आक्रोश आफूमा मात्रै नरहेको बताउनुभयो। सामान्य लाज पनि नराखेर राज्य स्रोतमाथि मनपरी गरेको लिङ्देनले टिप्पणी गर्नुभयो ।