काठमाडौं। मुलुकको राजनीति सही दिशामा उन्मुख नहुँदा र जिम्मेवार दलहरुको लापरवाहीका कारण विकास धरापमा पर्ने गरेको स्वयं सत्ता–प्रतिपक्षी दलका नेताहरुले स्वीकार्न थालेका छन् ।
आफ्नो जिम्मेवारी अनुसारको काम गर्न नसक्दा र खराब राजनीतिको शिकार हुँदा जनताले दुःख पाएका छन्। संघीयता कार्यान्वयनको पक्षमा उल्लेख्य काम नहुँदा पनि व्यवस्थामाथि प्रश्न उठिरहेको छ भने सानो दलको नेता प्रधानमन्त्री बन्दा सत्ता जोगाउन तर्फ समग्र शक्ति लागेको देखिन्छ ।
पाँच वर्षसम्म प्रतिपक्षीमा बस्नुपर्ने बाध्यता बीच विपक्षी दलहरुपनि सरकार ढाल्न उद्धत देखिन्छन्। नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले सत्ता र प्रतिपक्षले आआफ्नो जिम्मेवारी बिर्सिँदा समस्या आइरहेको छ ।
सत्तासाझेदार दलकै मन्त्रीहरु प्रधानमन्त्रीको गतिविधिबाट सन्तुष्ट छैनन् । केही दिनअघि रास्वपाका सांसद एवं खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खल्तीमा राजीनामा बोकेर हिडेको बताउनुभएको थियो । आजै प्रधानमन्त्री प्रचण्डले त्यसको जवाफ फर्काउँदै रास्वपाको पहिचाननै त्यो भएको दाबी गर्नुभएको छ ।
एकअर्काप्रति विश्वासको वातावरण नै नभएको समिकरणका विकास र समृद्धिको आश कल्पना मात्रै मान्न सकिन्छ । माओवादी केन्द्रका नेता हिमाल शर्माले भने नाँच्न नजान्ने आगन टेढो मात्रै भएको तर्क गर्नुभएको छ ।
राजनीतिक विश्लेषक जैनेन्द्र जीवनले अहिलेको व्यवस्थाले मुलुकलाई सुशासन र आर्थिक समुन्नती दिने कुरा सम्भव नभएको दाबी गर्नुभयो । जबसम्म कुनै दलको बहुमत आउँदैन तबसम्म च्याखे थाप्ने प्रवृत्ति हाबी भइराख्ने उहाँको भनाइ छ ।
राष्ट्रहीत भन्दा व्यक्तिवादी चरित्र हाबी भएपछि विकास र समृद्धिले मौका पाएको छैन । जिम्मेवार दलहरु मुलुकको हीतको पक्षमा नहुँदा समस्या भइरहेको छ । पहिलो र दोस्रो दल निरिह भएर तेस्रो दलले फनफनी घुमाएको छ । यस्तै, अवस्था रहे देशको हालत अर्को दशवर्ष सम्म अध्याँरो सुरुङतर्फ मोडिने पक्का छ ।
००००