काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पहिचान जोगाउन बाध्यतावस् राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राजीनामा दिन्छु’ भनेको बताउनु भएको छ।
आज चितवनमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्तो बताउनु भएको हो। यद्यपी त्यस्तो बाध्यता आइपरे पनि रास्वपाले राजीनामा दिन्छ भन्ने आफूलाई नलागेको उहाँको भनाई थियो।
उहाँले भन्नुभयो, “रविजीले सुरुमै भन्नुहुन्थ्यो हामी त्यस्ता हौँ भनेर, आफ्नो पहिचानका निम्ति पनि उहाँहरूलाई भन्नुपर्ने आवश्यकता होला। तर, मैले बुझेकोमा त्यस्तो केही पनि छैन।”
गत शनिवार रास्वपा संसदीय दलका उपनेता तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले राजीनामा गोजीमा बोकेर हिँडेको बताउनु भएको थियो। त्यसैको आधारमा सञ्चारकर्मीहरूले सोधेको प्रश्नको जवाफ दिँदै उहाँले यस्तो बताउनुभएको हो।
गठबन्धन परिवर्तन गरेर सय दिन सरकार सञ्चालन सन्तोषजनक नै भएपनि विगतमा भनेजस्तै राष्ट्र र जनताको पक्षमा गति दिन आवश्यक भएको बताउनुभयो।
उहाँले भन्नुभयो,“सय दिनको उपलब्धि समग्रमा सन्तोषजनक छ। नीति, कार्यक्रम र बजेट परिवर्तन हुन्छ । सुशासन सामाजिक न्याय र समृद्धिको पक्षमा पहल भएको छ।”