Aug 05 2026 | २०८३, श्रावण २० गते

२०८३, श्रावण २० गते
  • यो साता चर्चामा :
images

मन्त्रीहरूको चरम लापरबाही, बजेटमाथिको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्री नै अनुपस्थित, छलफलको प्रभावकारितामै  सांसदहरूको प्रश्न (खास खबर)

मन्त्रीहरूको चरम लापरबाही, बजेटमाथिको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्री नै अनुपस्थित, छलफलको प्रभावकारितामै  सांसदहरूको प्रश्न (खास खबर)

  • शुक्रवार, जेठ ३२ २०८१

  • 470
    SHARES

  • मन्त्रीहरूको चरम लापरबाही, बजेटमाथिको मन्त्रालयगत छलफलमा सम्बन्धित मन्त्री नै अनुपस्थित, छलफलको प्रभावकारितामै  सांसदहरूको प्रश्न (खास खबर)
    काठमाडौं । विनियोजन विधेयकमाथिको छलफलमा विभागीय मन्त्रीहरूले चरम लापरबाही गरेका छन् । सङ्घीय संसद्मा विनियोजन विधेयकमाथिको छलफलमा विभागीय मन्त्रीहरू नै अनुपस्थित भएका छन् । सम्बन्धित मन्त्रालयका लागि विनियोजन भएको बजेटमाथिको छलफलमा सम्बन्धित मन्त्रीहरू नै अनुपस्थित भएपछि सांसदहरूले संसद्मै प्रश्न उठाएका छन् । बजेटमाथिको छलफलमा विभागीय मन्त्री बैठकमा उपस्थित नभएको भन्दै मन्त्रीविना छलफल अघि बढ्न नसक्ने सांसदहरूले बताएका हुन् ।
     
    सांसदहरूले बजेटमा सुझाव मात्रै दिइरहेका छैनन्, त्रुटि पनि औंल्याइरहेका छन् । तर, आफ्नो मन्त्रालयमाथिको बजेटमा छलफल चलिरहँदा विभागीय मन्त्रीहरू बैठकमै नबस्ने क्रम बढेको छ । जसले मन्त्रालयगत छलफलको औचित्यमाथि प्रश्न उठ्नुका साथै सम्बन्धित मन्त्री कति गम्भीर छन् भन्ने देखाएको छ ।
     
    प्रतिनिधिसभाका स्वतन्त्र सांसद डा.अमरेशकुमार सिंहले बजेटमाथिको छलफलमा विभागीय मन्त्री बैठकमा उपस्थित नभएको भन्दै मन्त्रीविना छलफल अघि बढ्न नसक्ने आजको बैठकमा बताउनुभयो । आज आर्थिक वर्ष २०८० र ०८१ को मन्त्रालयगत बजेटमाथि छलफलको कार्यसूची थियो । जसमा वन मन्त्रालय, पर्यटन तथा संस्कृति, खानेपानी र सञ्चार मन्त्रालयको बजेटमाथि छलफल हुँदै थियो । 
     
    सभामुखबाट बजेटमाथि छलफलका लागि समय लिएर रोष्ट्रममा पुग्नुभएका  अमरेशकुमारले सञ्चारमन्त्री रेखा शर्मा र बन र खानेपानी मन्त्री राजेन्द्र राईलाई बैठकमा नदेखेपछि छलफल अघि बढ्न नसक्ने बताउनुभएको थियो ।   
     
    त्यसपछि सभामुख देवराज घिमिरेले वक्ता सिंहलाई एकछिन रोष्ट्रममै रोकिन आग्रह गर्नुभएको थियो । उहाँले मन्त्रीहरू संसद्मै रहेको भन्दै बैठक स्थलमा आउन निर्देशन दिनुभयो ।  ‘मलाई जानकारी भएसम्म मन्त्रीहरू यहीँ कतै हुनुहुन्छ, बाहिर नअल्मलिकन भित्र आइदिनुस्’, सभामुखले निर्देशन दिनुभयो ।  
     
    त्यसपछि कांग्रेस सांसद रमेश लेखक केही बोल्न खोज्नुभयो। त्यो देखेर सभामुखले लेखकलाई बोल्न समय दिनुभएको थियो । लेखकले भन्नुभयो,‘एउटा समस्या भइरहेको छ । ५–६ घण्टा हामी छलफल गर्छौ, कि यो नियमावली संशोधन गरौँ ? कि आलोपालो गरौँ । मन्त्री अनुपस्थित हुने अनि माननीयले सजाय पाउनुपर्ने यो उल्टो भयो’, लेखकले प्रस्ताव गर्नुभएको थियो । 
     
    बजेटको मन्त्रालयगत छलफलमा सांसदहरूले छुट्टी नपाउने निर्णय यसअघि भएको थियो ।  प्रतिनिधिसभामा जेठ २९ गतेदेखि बजेटको मन्त्रालयगत छलफल सुरु भएको हो । संसद् सचिवालयले तयार पारेको क्यालेन्डर अनुसार असार ७ गते बजेट पारित हुने तालिका छ । 
     
    तर,बैठकमा मन्त्रालयगत छलफल चलिरहेका बेला विभागीय मन्त्री नै उपस्थित नहुँदा छलफलको प्रभावकारिता नहुने सांसदहरूले टिप्पणी गरेका छन्  । सरकारले पेस गर्ने र संसद्ले पारित गर्ने बजेट एक वर्षको कानुन पनि हो । त्यस कारण बजेटमाथिको छलफलका बेला समयमा उपस्थित नहुनु मन्त्रीहरूको गैरजिम्मेवारीपन पनि हो ।  सम्बन्धित मन्त्रीले अन्तिममा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । तर बैठकमै उपस्थित नभएपछि सम्बन्धित मन्त्रीले के प्रश्न सुनेर के जवाफ देलान्, त्यो भने हेर्न बाकी छ । 
     


    शुक्रवार, जेठ ३२ २०८१०८:३२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij