काठमाडौं। सत्ताको प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिमण्डल हेरफेर गर्ने विषयमा सहमति जुटेसँगै सरकारलाई समर्थन गरेका दलहरुबाट मन्त्री बन्ने बाटो खुला भएको छ। तर, अहिलेकै स्थितिमा प्रधानमन्त्री प्रचण्ड मन्त्री अदलबदल गर्ने पक्षमा देखिनुभएको छैन।
जनता समाजवादी पार्टी नेपालको विभाजन र सर्वोच्चमा परेको रिटले सरकारलाई केही धक्का दिन्छ की भन्ने त्रासमा प्रचण्ड रहनुभएको छ। उपेन्द्र यादवको पक्षमा फैसला आए नेकपा एकीकृत समाजवादी अंकगणितमा निर्णायक दल बन्नेछ।
यता,नेकपा एमालेका सांसद ठाकूर गैरेले मन्त्रिमण्डल हेरफेरका लागि प्रधानमन्त्री लागिपरेको बताउनुभयो। यो स्वभाविक विषय रहेको पनि उहाँको भनाइ छ।
नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सरकार प्रचारवादीमा मात्रै उत्रिएको आरोप लगाउनुभएको छ। सत्तालाई कसरी जोगाउने भन्ने विषयमा मात्रै सरकार सक्रिय रहेको उहाँको भनाइ छ। आफूले नगरेका कामलाई पनि गरेको भन्दै भ्रम सिर्जना गर्न सरकार उद्धत रहेको पौडेलले बताउनुभयो।
खानेपानीमन्त्री राजेन्द्र राईले अहिलेको व्यवस्थामा सरकार बन्ने र ढल्ने सामान्य प्रक्रिया रहेको बताउनुभयो। नेपाली जनताले दिएको म्याण्डेडलाई शीषोधार्य गर्दै सरकारलाई मजबुद बनाइनुपर्ने उहाँको भनाइ छ।
सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले यो सरकार अलमलमा रहेको दाबी गर्नुभयो। सुशासनको पक्षमा काम गर्ने नेताहरुको खाँचो रहेको आवाज उठिरहेका बेला नेकपा एसका उपमहासचिव खतिवडाले यो सरकारले बाटो विराएको संकेत गर्नुभयो।
यो कार्यकालमा मुलुकको हीतका पक्षमा काम गर्ने अठोट लिएका प्रचण्डलाई आफ्नै पद भारी भइरहेको छ। पछिल्लो समय मन्त्रिमण्डल हेरफेरका लागि प्रधानमन्त्री सक्रिय देखिन थालेका छन्। आफूलाई विश्वासको मत दिएकाहरुलाई सत्तामा ल्याउन तम्सिएका प्रचण्डले छलफल जारी राखेका छन्।