काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सांसद ज्ञानेन्द्र शाहीले क्रान्तिले नभइ नीति र कानुनले देश बन्ने बताउनु भएको छ।आज जारी प्रतिनिधिसभा बैठकमा बोल्दै शाहीले मान्छे मारेर नभै नीति र कानुनले देश बन्ने स्पष्ट पार्नुभएको हो ।
सांसद शाहीले प्रश्न गर्दै भन्नुभयो,’मुलुक कुन क्रान्तिले बन्छ? सडकमा बम पड्काएर मुलुक बन्ने हो र? दुईचारजना मारेर मुलुक बन्ने हो र? यदि मारेर देश बन्दो हो त १७ हजार मानिस मरेका छन्,आज देश किन बनेन्?, देश नीति र कानुनले बन्ने हो। देश मन्त्रीको अर्जुन दृष्टिले बन्ने हो।’
राप्रपाका प्रवक्ता समेत रहनु भएका सांसद शाहीले सत्तापक्षले सरकारले जे गरेपनि समर्थन गर्ने र विपक्षीले सधैं विरोध गर्ने प्रवृत्ति रहेको औंल्याउनु भयो।
उहाँले भन्नुभयो, ’उ त्यो परको धारमा बस्ने साथीहरूले सरकारले जतिसुकै राम्रो काम गरे पनि गलतै भन्ने प्रवृत्ति। अनि उ त्यहाँ बस्ने माननीय साथीहरू सरकारले देशै बेचेपनि सरकारले ठिक गर्यो भन्ने प्रवृत्ति छ। यो प्रवृत्तिको जबसम्म अन्त्य हु्न सक्दैन। तबसम्म यो संसद संसदजस्तो होइन कि कुनै पार्टीको भातृसंगठन जस्तो हुन्छ।’
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै खेतीयोग्य जमिन रहेको स्थानमा शहरीकरण,खानी भएको स्थानमा बस्ती रहेको भन्दै भूमिसम्बन्धी मन्त्रालयले कुनै पहल गर्न नसकेको बताउनुभयो ।
उहाँले भूमिको बर्गीकरण र अव्यवस्थीति बसोबास नियन्त्रण गर्न सरकार असफल भएको बताउनुभयो ।