काठमाडौं। नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले निर्वाचन आयोगले आफ्नो पार्टीप्रति गलत कदम चालिदिएको बताउनु भएको छ।
समाजवादी पार्टीको स्थापना दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै साढे १० हजार जनप्रतिनिधि र एक लाख ३९ हजार जनता सहभागी भएको आफ्नो पार्टीको महाधिवेशनलाई निर्वाचन आयोगले अवैध ठहर गर्नु उचित नभएको बताउनुभयो।
उहाँले श्रीमान श्रीमतीबीच नै फाटो ल्याइदिन खोजेको बताउनुभयो। उहाँले भन्नुभयो,’श्रीमान श्रीमतीबीच फाटो ल्याउन खोज्ने दलहरूले देशको विकास गर्न सक्दैनन्।’ उहाँले आफूलाई अझैपनि तर्साउने प्रयत्न भइरहेको भन्दै त्यसबाट आफू रतिभर पनि त्रसित नहुने बताउनुभयो।
चौधरीले टीकापुर घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएकोसमेत बताउनुभयो।उहाँले टीकापुर घटनाका बारेमा लाल आयोगको प्रतिवेदन लुकाइएको भन्दै अब उक्त घटना घटाउनेको नाम सार्वजनिक गर्ने बेला आएको बताउनुभयो।
उहाँले टीकापुर घटनामा घाइते व्यक्तिलाई उपचार गर्न अस्पताल लाने, रिक्सा चलाउने, तरकारी बेच्ने निर्दोष थारूहरूलाई ८ वर्ष जेल पठाइएको जिकिर गर्नुभयो।
जबरजस्ती दोषी बनाइएका थारूहरूलाई उचित क्षतिपूर्तिसहित राज्यले माफी माग्ने बन्दोबस्त गर्न गृहमन्त्री समक्ष आग्रहसमेत गर्नुभयो।