काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय अध्यक्षमा उपेन्द्र यादव निर्विरोध निर्वाचित हुनुभएको छ । पार्टी स्थापना कालदेखि नै नेतृत्व गर्दै आएका यादव अहिले जनकपुरमा भइरहेको राष्ट्रिय महाधिवेशनबाट पुनः अध्यक्षमा चयन हुनुभएको हो ।
निर्वाचन प्रक्रियाअनुसार जसपा नेपालको नेतृत्व चयनका लागि आज बिहान उम्मेदवारी दर्ता भएको थियो । जसमा अध्यक्ष पदको लागि उपेन्द्र यादवको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध हुनुभएको हो।
अध्यक्षबाहेकका पदमा नेताहरूको उम्मेदवार परे पनि नामावली भने सार्वजनिक भइसकेको छैन । जनकपुरधाममा जसपा नेपालको महाधिवेशन चलिरहेको छ ।
मधेस प्रदेशको जनकपुरधामस्थित महेन्द्र नारायण निधि भवनमा जारी महाधिवेशनबाट २०१ सदस्यीय केन्द्रीय समितिका लागि आज बिहान ८ः३० बजेदेखि उम्मेदवारी दर्ता कार्य भइरहेको निर्वाचन समितिले जनाएको छ ।