काठमाडौं। आजबाट शुरु भएको मन्त्रालयगत बजेटमाथिको छलफलमा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ अनुपस्थित हुनुभयो ।
सभामुख देवराज घिमिरेले मन्त्रालयका नाम बाचन गरेपछि नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले खेलकुद मन्त्री अनुपस्थित रहेकोले उक्त मन्त्रालयको विषयमा छलफल गर्न नसकिने बताउनुभयो। लगत्तै सभामुख घिमिरेले सो मन्त्रालयलाई सूचीबाट हटाउनुभयो र छलफल शुरु गरियो ।
आजको छलफलमा नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डेले नीति तथा कार्यक्रम र बजेट विपरित दिशामा उभिएको दाबी गर्नुभयो । विगतमा समेत यस्ता समस्या हुने गरेको बताउँदै उहाँले अहिले बढेको ठोकुवा गर्नुभयो।
नेपाल कृषिप्रधान मुलुकका रुपमा परिचित छ। कृषिलाई अझ उन्नत बनाउन सकिएको छैन। सरकारले समेत किसानलाई समयमा मलखाद, बीउविजन र उत्पादन व्यवस्थापन गर्न सकेको छैन। आजको बैठकमा राप्रपाका सांसद धवलशम्शेर जबराले कृषिलाई व्यवस्थित बनाउन सरकारको योजनानै नरहेको दाबी गर्नुभयो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पहिलेको तुलनामा बजेट परिष्कृत आएको दाबी गर्नुभयो। उहाँले बिस्तारै बजेटको बनावटलाई समेत परिमार्जन गर्न आवश्यक रहेको बताउनुभयो। बजेट निर्माणको सवालमा सबैको ऐकेबद्धता आवश्यक रहेको उहाँको भनाइ छ ।
नेमकिपाका सांसद प्रेम सुवालले श्रममन्त्रालयले धेरै विषयलाई चिर्नुपर्ने चुनौति रहेको बताउनुभयो। यूवालाई वैदेशिक रोजगारीमा पठाउने मात्रै नभई स्वदेशमै रोजगारीको व्यवस्था गर्न र यूवा बिक्री मन्त्रालयको ट्याग हटाउन चुनौति रहेको उहाँको भनाइ छ। आम यूवाको उत्थानका लागि बजेट खर्च गरिनुपर्ने उहाँको तर्क छ।
बजेट महत्वकांक्षी आउने विषय नेपालको प्रचलनजस्तै बनिसकेको छ। कार्यान्वयनको चरण फितलो हुँदा बजेटको महत्वलाई दर्शाउन सकिएको छैन । पूजीगत खर्च र राजश्व संकलनका लक्ष्य आकाशको फल आँखातरी मर प्रायः बनेको छ। यी दुई लक्ष्यमा पुग्न नसक्दा बजेटको औचित्यमाथि प्रश्न उठ्ने गरेको छ ।