काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतको दुई दिने बसाई सकेर नेपाल फर्किनुभएको छ । भारतमा रहँदा उहाँले तेस्रोपटक नवनियुक्त प्रधानमन्त्री नरेन्द्र मोदीसँग शिष्टाचार भेट गर्नुभयो । राष्ट्रपति द्रौपदी मुर्मुले आयोजना गरेको रात्रीभोजमा समकक्षीसँग प्रचण्डको छोटो भेट भयो । दुई देशबीचको सम्बन्धका विषयमा केही कुराकानी भयो । आज बिहान राष्ट्रपति मुर्मु, विदेशमन्त्री एस जयशंकरसँग पनि प्रधानमन्त्री प्रचण्डले भेट गर्नुभयो । दुई देशबीचको सम्बन्ध र केही देखिएका समस्याहरूलाई समाधान गर्न सके नेपालको हितमा हुने एकीकृत समाजवादीका नेता एवं पूर्वमन्त्री विरोध खतिवडाको भनाइ छ ।
नेपाल भारतको सम्बन्ध सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक, भौगोलिक रुपमा पनि उत्तिकै मजबुत रहेको छ । नेपालीहरूको रोजगारीको गन्तव्य समेत भारत बनेको छ । यहाँको राजनीतिक परिवर्तनमा समेत उसको प्रत्यक्ष, परोक्ष रुपमा साथ रहेको छ । लोसपाका नेता जितेन्द्र सोनालका अनुसार भारतसँगको सांस्कृतिक र राजनीतिक सम्बन्ध निकै बलियो रहेको छ ।
नेपाली कांग्रेसका नेता एवं पूर्व परराष्ट्रमन्त्री डा. नारायण खड्काले नेपाल–भारतको सम्बन्ध नागरिक देखि नागरिकसम्मकै रहेको दाबी गर्नुभयो । भारतले नेपालबाट मजबुत सुरक्षा व्यवस्था र अन्तर्राष्ट्रिय फोरममा समेत साथ खोजेको उहाँको भनाइ छ । छिमेकीलाई जहिले पनि मित्रवत् व्यवहार गर्नुपर्ने खड्काको तर्क छ ।
केही मामलामा भारतले नेपालमाथि हेपाहाको समेत व्यवहार गरेको तथ्यहरू भेटिन्छन् । यो मुलुकका राष्ट्रप्रमुख, कार्यकारी प्रमुख जाँदा गरिएको स्वागतदेखि आफ्नो इच्छा अनुसारको काम कारबाही नहुँदा नाकाबन्दी गर्नेसम्मका कार्य भएका छन् । यद्यपि विश्व मानचित्रमा आफ्नो दबदबा कायम गर्ने कसरतमा रहेको भारतसँग नेपालले फाइदा लिन सक्नुपर्दछ ।