काठमाडौं । भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला नयाँ दिल्लीमा हुनुहुन्छ । भारतीय प्रधानमन्त्री मोदीले आजै शपथ ग्रहण समेत गर्नुभयो । मोदीको निमन्त्रणमा बंगलादेश, श्रीलंका, माल्दिभ्स, मौरिससलगायतका देशबाट राष्ट्रप्रमुख वा उनीहरूको प्रतिनिधि त्यहाँ पुगेका छन् । प्रधानमन्त्री प्रचण्डको भ्रमणलाई दुई कोणबाट व्याख्या गर्न शुरु गरिएको छ । यो भ्रमणले मित्रता जगाउने कुरामा महत्त्वपूर्ण योगदान गर्ने तर सन्धि सम्झौताहरू केही नहुने भएकोले यसको तात्त्विक अर्थ देखिँदैन । विश्व मानचित्रमा आफूलाई अब्बल स्थापित गर्दै गएको देशले बोलाए छिमेकी जानु स्वाभाविक रहने वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालको भनाइ छ ।
परराष्ट्र मामिला जानकार डिबी सुनारले नेपाल र भारतको सम्बन्ध आदिमकालदेखि रहेको बताउँदै अहिलेको भ्रमणले सामाजिकस्तरमा राम्रो छाप छोड्ने बताउनुभयो । दुवै देशलाई प्रभाव पार्ने खालका सम्झौतामा हस्ताक्षर नहुने उहाँको भनाइ छ । परिवर्तित राजनीतिक समीकरण र त्यसलाई जोगाउनका निम्ति समेत ठूला देशको चाँसो रहने हुँदा यो भ्रमण प्रधानमन्त्रीका निम्ति फलदायी हुने उहाँको विश्लेषण छ ।
राजनीतिक विश्लेषक प्रा.डा. प्रेम शर्माले केही दलहरूको राजनीतिक अस्तित्व समाप्त हुने दिशामा गइरहेकोले पनि भारतले चासो दिएकाले प्रधानमन्त्रीको भ्रमण हुनु सामान्य प्रक्रिया हो । अनौपचारिक छलफलमा समेत नेपालको सरकार र राजनीतिको विषयले प्रवेश पाउने शर्माको दाबी छ ।
भारतीय जनता पार्टीका नेता समेत रहनुभएका मोदीले प्रधानमन्त्री दाहालसँग आजै भेटवार्ता गर्ने कार्यक्रम छ । नेपाल–भारत सम्बन्धको चर्चा गर्दा सामाजिक, आर्थिक, राजनीतिक, सांस्कृतिक विषय परापूर्वकालदेखि रही आएका छन् तर राजनीतिक अस्थिरताले कहिलेकाहीँ मतभेदको स्थिति सिर्जना हुने गरेको छ । प्रधानमन्त्री दाहाल भोलि स्वदेश फर्किने कार्यक्रम छ ।