काठमाडौं। सहकारी ठगी प्रकरणबारे छानविन गर्न बनेको समितिले अहिले काम सुरु गरिसकेको छ । कार्यदलले बनाएको कार्यदेशअनुसार नै छानविनको काम अगाडि जाने समितीले बताएको छ ।
समितिमा विभिन्न दलका सांसदहरुको आ–आफ्नो धारणा सुनेर एउटै निश्कर्षमा पुग्ने दाबी पनि गरिएको छ । समितिले गत जेठ २३ गतेदेखि नै काम सुरु गरिसकेको समितिका संयोजक सुर्य थापा बताउनुहुन्छ ।
थापाले शुक्रवार बसेको समितिको बैठकले विगतमा सहकारी सम्बन्धि बनेका अध्ययन समिति, छानविन समिति र आयोगले तयार पारेको प्रतिवेदनहरु उपलब्ध गराउन माग गरिएको बताउनुभयो।
सहकारी समस्या आजको राष्ट्रिय समस्या बनेको बताउँदै उहाँले यस विषयमा आफूहरु अत्यन्त गम्भीर भएर लागेको बताउनु भएको छ । संयोजक थापाले समितिमा रहेका सबै सदस्यहरुले प्रदान गरिएको समयभित्रै काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेको जानकारी दिनुभयो।
सहकारी ठगी प्रकरण छानविनका लागि बनेको समितिका संयोजक रहनु भएका थापाले समिति कसैलाई तान्न र बचाउनका लागि नभएको बताउनुहुन्छ। उहाँले तथ्य र प्रमाणका आधारमा जो दोषी देखिए पनि समितिले कारबाहीको सिफारिस गर्ने बताउनुभयो ।
यता संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समिति गठन भईसकेपछि पनि विभीन्न प्रतिकृया दिईरहेको छ । नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको टिप्पणी गर्नुहुन्छ ।
उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा भन्दै नैतिकताको बोध नगरिने राजनीति काँग्रेसले अन्त्य गरेर छोड्ने दाबी गर्नुभएको छ ।
एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा ७ सदस्यीय छानबिन समितिले अहिले काम गरिरहेको हो। समितिमा एमालेकी सरिता भुसाल, कांग्रेसबाट ईश्वरी न्यौपाने र बद्री पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपाबाट शिशिर खनाल र राप्रपा ध्रुवबहादुर प्रधान हुनुहुन्छ।
२९ वटा सहकारीको छानबिन त्यो पनि तीन महिनाभित्र भन्ने कार्यादेशले दिएको समयावधि छोटो तर जिम्मेवारी गहु्रंगो पनि छ। सयौं सहकारीमा समस्या छ।नेपाली कांग्रेसका अर्का नेता रामहरि खतिवडाले आफुहरु कसैसंग आग्रह पुर्वाग्रह नराख्ने बताउनुहुन्छ।
यसलाई फसाउनु पर्छ र यसलाई बचाउनुपर्छ भन्ने किसिमले प्रस्तुत नहुने उहाँको भनाई छ ।संसदीय समितिले गहिरो अध्ययन, अनुसन्धान गरी दूधको दूध पानीको पानी बनाउन सक्नुपर्छ।
संसदीय समितिको छानबिन राजनीतिक मुद्दा बन्नु हुन्न र कसैको राजनीति रोटी सेक्ने माध्यम पनि होइन भन्ने सिद्ध गर्ने चुनौती पनि छ। यद्यपी समितिले भने निष्पक्ष छानविन गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
तर, बिगतको नजिर हेर्दा र बर्तमान गठवन्धन सरकारमा सम्मिलित दल नेकपा एमालेका सांसद समेत रहनुभएका समिति संयोजक सुर्य थापाले नै केहि समय पहिलासम्म समिति आवश्यक नै नरहेको र गृहमन्त्रीमाथि छानविन नै गर्न नपर्ने अभिव्यक्ति दिदै आएका कारण यसपटक निष्पक्ष छानविन हुनेमा भने आशंका कायमै रहेको पनि टिप्पणी हुने गरेको छ ।