काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विगत ३८ दिनदेखि अनशनमा रहेका दिपक भण्डारी, प्रेम बुढाथोकी र रामबहादुर तामाङको जीवन रक्षाको माग गरेको छ।
आज बसेको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै कांग्रेस सांसद कुसुमदेवी थापाले अपांगता भएका व्यक्तिहरूको हक अधिकारका लागि उनीहरू अनशनमा बसेको भन्दै सरकारको ध्यानाकर्षण गराउनु भएको हो।
थापाले भन्नुभयो,“नेपालको संविधान २०७२ मा अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी ऐन २०७४ को धारा ९मा अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी नियमावली २०७७ को परिच्छेद ३ को ९मा व्यवस्था गरेको पूर्ण अशक्त र अतिअशक्त अपांगता भएका व्यक्तिलाई सहयोगी सेवा उपलब्ध गराउने स्पष्ट व्यवस्था छ,अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघको संघीय महासन्धिको नेपाल पनि पक्ष राष्ट्र भएकाले महासन्धिको धारा १९ मा व्यवस्था भएको अधिकारका लागि गएको चैत १४ मा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँग भएको सम्झौता लागु गर्न विगत ३८ दिनदेखि अनशनमा बसेका दिपक भण्डारी, प्रेम बुढाथोकी र रामबहादुर तामाङ जीवन मरणको दोसाँधको अवस्थामा छन् ।”
उनीहरूको मागलाई तत्काल सम्बोधन गरी पूर्ण अपांगता भएका व्यक्तिहरूको स्वभिमानपूर्वक आफ्नै समाजमा जीवनयापन गर्ने अधिकार सुनिश्चित गर्न उहाँले माग गर्नुभयो।