काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली केही दिनअघि एक कार्यक्रममा रास्वपा नेतृ एवं शिक्षामन्त्री सुमना श्रेष्ठमाथि व्यंग्यात्मक प्रहार गरे। कुनै एउटा देशमा एक चेली विदेशीसँग विवाह गरेर गइन्, माइती फर्कँदा उनले जताततै अस्तव्यस्त देखिन् रे! उनलाई कसैले सांसद मन्त्री बनाइदियो, यस्तै खाले टिप्पणी ओलीले गर्नुभएको थियो।
सामान्यतया यस्ता अवसरहरु अपवादमा मात्रै आउने उदाहरण दिँदै उहाँले आकाशको पानीबाट पनि माछा खस्नेसम्मको उदाहरण दिनुभयो। यतिमा मात्रै ओली रोकिएनन्, सधैँ आकाशबाट माछा नखस्ने समेत बताए।
ओलीले सुमना लक्षित गरेको यो टिप्पणी आज संसदमा प्रवेश गरेको छ। रास्वपाका सांसद शिशिर खनालले भृकुटी र सीताको उदाहरण दिँदै यसै भूमिकी छोरीहरु विदेशीसँग विवाह गरेर गएको स्मरण गर्नुभयो।
कुनै एउटा नारी विदेशबाट शिक्षा हासिल गरेर आफ्नै देशमा केही गर्छु भन्दै आउँदा भद्दा टिप्पणी हुने गरेको भन्दै उहाँले ओलीको टिप्पणीमाथि प्रति टिप्पणी गर्नुभएको छ। यहाँ महिलालाई स्थापित हुन अझै समस्या भइरहेको बताउनुभयो।
शिक्षामन्त्री समेत रहनुभएकी रास्वपा सांसद सुमनाले भने यस्ता टिप्पणीहरुको वेवास्ता गरिरहेको बताउनु भएको छ। दुईवटा नागरिकता सम्बन्धि आएका विषयहरु प्रतिपनि आफ्नो कुनै प्रतिक्रिया नरहेको उहाँको भनाइ छ।
ओलीको टिप्पणीमाथि सामाजिक सञ्जालमा लेख्दै श्रेष्ठले देश कुनै अमुक नेताहरूको कैदमा रहेको र उनीहरूको मर्जीबिना पात पनि हल्लिँदैन भन्ने धारणा फेरिनु आवश्यक रहेको बताउनुभएको छ। साथै एक सञ्चारमाध्यमको कार्यक्रममा उहाँले परिवर्तन हुनेबेलामा यस्ता विषयहरु आइरहने बताउनुभएको छ।
सत्तापक्षमै रहेको रास्वपामाथि ओलीको बेलाबखत प्रहार आइरहेको छ। केही दिनअघि गृहमन्त्री रवि लामिछाने लक्षित टिप्पणी गर्दै ओलीले भगेरा मार्न तोप बोक्न आवश्यक नरहेको भन्दै कांग्रेसको प्रतिवाद गर्नुभएको थियो। ओलीको अभिव्यक्तिले कतै रास्वपा तर्सिदै गएको त होइन भन्ने आम नागरिकको आशंका छ।