काठमाडौं। उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको गुनासो गर्नुभएको छ।
आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले आफूले कयौँ पटक सहकारी पीडितको पक्षमा लडेपनि त्यसैको ट्याग बोकेर हिँड्नुपरेको बताउनु भएको हो।
रास्वपा सभापति समेत रहनु भएका गृहमन्त्री लामिछानेले नागरिकताको विषयमा पनि आफूले लड्नुपरेको उल्लेख गर्दै त्यसैको आरोप पनि खेप्नुपरेको दुखेसो पोख्नु भयो। उहाँले आफूले जस्तोसुकै आरोप खेप्नुपरे पनि नेपाली जनताको अधिकार प्राप्तिका लागि लडाइँ लड्न भने नछोड्ने दृढता व्यक्त गर्नुभयो।
उहाँले भन्नुभयो, ‘मेरो त भाग्य नै यस्तै छ । जुन विषयका लागि आफू लडेको हुन्छु । त्यसैको आरोप खेप्नुपर्छ । नागरिकताको विषयमा विरोधीको कित्तामा उभ्याउने प्रयास गरियो । जबकि जीवनभर त्यसैको पक्षमा लडिरहेँ । सहकारी पीडितहरूका लागि कयौँ रिपोर्टहरु बनाइयो, कतिका लागि लडियो । कतिलाई जेल पठाइयो, कतिको पैसा फिर्ता लगाइयो । अहिले सहकारी ठगको ट्याग बोकेर हिँड्नुपरेको छ ।’
गृहमन्त्री लामिछानेले आफूमाथि लागेको अनेक आरोपको खण्डन गर्दै अघि बढ्ने पनि बताउनुभयो।