काठमाडौं। सरकारमा देखिएको आपसी मतभेदका कारण सत्ता परिवर्तनको चलखेख शुरु भएको छ। बजेट आइसकेपछि आन्तरिक रुपमा सत्तासाझेदार दलहरुबीच घोचपेच सुरु भएसँगै पुनः समिकरण धरापमा पर्ने खतरा बढेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बेग्लै चाहानाको सिकार भइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाउ कुरेर बसेको स्पष्ट हुन्छ।उता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्रको दबाब खेप्न नसकेपछि सत्तामा बस्ने की बाहिरिने निर्णय लिन सकेका छैनन्।
जसपा नेपाल विभाजन भएसँगै आफ्नो पार्टीमा पनि सोही हावा सर्छ की भन्ने चिन्ता उहाँमा छ।कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले सत्ता उलटपुलट हुने कुरा स्वभाविक रहेको बताउँदै यो सरकार आफ्नै कारणले ढल्ने दाबी गर्नुभएको छ।
नेकपा माओवादी केन्द्र भने अहिलेको अवस्थामा समिकरण नभत्किने दाबी गरिरहेको छ। तर,कांग्रेससँगको आन्तरिक परामर्शमा नेताहरु रहेको बुझिएको छ।
माओवादी केन्द्रका सचिव चक्रपाणी खनालले सत्ता परिवर्तन हुने विषय नौलो नभएको बताउनुभएको छ। तर, यहीँ अवस्थामा अकारण सरकार नढल्ने उहाँको दाबी छ।
कांग्रेस अहिले प्रतिक्षारत सरकार हो, जसले सत्ता गठबन्धनमा खटपटको स्थिति पैदा हुनासाथ आफ्नो सक्रियता बढाउँदै आएको छ। सत्ताबाट बाहिरिएको दिनदेखि नै संसदमा सशक्त रुपमा प्रस्तुत हुँदै आएको कांग्रेसले फेरि सरकारमा जाने आश मारेको छैन। राजनीतिक विश्लेषक भेषराज घिमिरेले भने कांग्रेस सरकारमा गए थप कमजोर बन्ने दाबी गर्नुभएको छ।
नेपालमा सरकार बन्ने र ढल्ने प्रक्रियाको सीमा छैन। प्रधानमन्त्री प्रचण्डकै कारण तीन पटकसम्म समिकरण परिवर्तन भयो।आगामी समिकरण पनि कस्तो बन्ने भन्ने विषय प्रचण्डको हातमा छ। बिडम्बना कांग्रेस–एमाले एकठाउँमा नआउँदा ससाना पार्टीहरुको च्याँखे दाउ सफल हुँदै आएको छ।