काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद डा.आरजु राणाले कृषकलाई राहत दिनका लागि छुट्टै बैङ्किङ प्रणालीको विकास गर्न सरकारलाई सचेत गराउनुभएको छ।
आज प्रतिनिधि सभा बैठकमा बोल्दै कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न र कृषकलाई राहत दिनका लागि छुट्टै बैङ्किङ प्रणालीको विकास गर्न सरकारलाई सुझाव दिनुभएको हो।
उहाँले उखु कृषक, दूध कृषकले समयमै भुक्तानी नपाएको गुनासो आइरहेको उल्लेख गर्दै त्यसका लागि पनि सहुलियत दरमा राहत दिने गरी समयमै भुक्तानीको व्यवस्था गर्न सरकारले सो खालको बैङ्किङ प्रणालीको विकास गर्न आवश्यकता भएको तर्क गर्नुभयो।
सांसद राणाले सरकारले कृषिलाई लगानी दशकको रूपमा घोषणा गरे पनि त्यस क्षेत्रको बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो। सांसद राणाले कृषिमा लगानी वृद्धि गर्न सरकारले त्यसको बजारको पनि उचित व्यवस्था गर्नुपर्ने बताउनुभयो।