काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले विद्युतीय सवारीहरूमा लगाइएको कर फिर्ता लिन माग गर्नुभएको छ।
आजको प्रतिनिधि सभा बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथिको छलफलमा भाग लिँदै लिङदेनले विद्युतीय सवारीमा लगाइएको कर फिर्ता लिन अर्थमन्त्रीसँग आग्रह गर्नुभएको हो ।
उहाँले विद्युत खपत गर्नका लागि विदेशमा बेच्नुपर्ने अवस्था भएको अवस्थामा विद्युतीय सवारीमा कर लगाइनु उचित नभएको बताउनुभयो। उहाँले कसैको कुरा सुनेर केवल राजस्व वृद्धि गर्न भनी विद्युतीय सवारीमा कर लगाउनु उचित नभएको बताउनुभयो।
उहाँले सधैँभरी अनुमान, अनुदान र ऋणमा आधारित भएर बजेट ल्याइने गरेको भन्दै यो प्रक्रिया असफल भएको बताउनुभयो। उहाँले पुँजीगत खर्च र चालु खर्चको दूरी बढेको भन्दै त्यसलाई साँघुराउने कुनै प्रयत्न नभएको पनि बताउनुभयो।
उहाँले बजेट नयाँ शैलीमा आउनुपर्ने भएपनि परम्परागत रूपमा नै आएको बताउनुभयो। उहाँले बजेटमा धेरै विवादास्पद कुराहरू नभएको पनि बताउनुभयो।