काठमाडौं।सत्ता साझेदार नेकपा एकीकृत समाजवादी पार्टी (नेकपा एस)का अध्यक्ष माधवकुमार नेपालले बुधबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेपछि प्रमुख सत्तारूढ दलका नेताहरू सशंकित भएका छन् । देउवाले बूढानीलकण्ठमा बोलाएको प्रतिपक्षी दलको बैठकमा नेपाल पनि मिसिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सशंकित भएका हुन् ।
अध्यक्ष नेपाल सत्ता समीकरणको रेखा नाघेर देउवाले बोलाएको बैठकमा पुगेपछि फेरि सरकार परिवर्तनको चलखेल सुरु भएको हो कि भन्ने आशंका पनि सुरु भएको छ । अहिलेको समीकरण छाडेमा प्रधानमन्त्री बनाइदिने आश्वासन देउवाबाट पाइरहेका नेपालको बूढानीलकण्ठ यात्राले अनेक प्रश्न जन्माइरहेको छ ।
यता नेकपा एस संसदीय दलका प्रमुख सचेतक मेटमणी चौधरी सत्ता गठबन्धन ढालेर नयाँ सरकार बनाउने कुनै पनि चलखेल नभएको बताउनुहुन्छ। पार्टी अध्यक्ष माधव नेपालसँगै प्रमुख प्रतिपक्ष दलको बैठकमा सहभागी हुनुभएका पूर्वमन्त्रीसमेत रहनुभएका चौधरीले फरक पार्टीका नेताहरुसँग भेटघाट हुनेबित्तिकै सरकार परिवर्तनको चलखेल भन्नु गलत हुने तर्क गर्नुभयो ।
यता, नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधि सभा सदस्य माधव सापकोटा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको दौडधुपले राजनीतिमा केही तरङ्ग ल्याएको टिप्पणी गर्नुहुन्छ । अध्यक्ष नेपालको गतिविधिले राजनीतिमा केही हलचल ल्याएपनि सरकारलाई कुनै असर नपर्ने दाबी उहाँको छ । नेपालले दाम्लो चुँडाएर जान खोजेको सापकोटाको टिप्पणी छ ।
बजेटबारे छलफल गर्न आज बसेको माओवादी संसदीय दल बैठकमा पनि सांसदहरूले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको दौडधुपबारे चासो राखे । प्रधानमन्त्री प्रचण्डले आफूसँग परामर्श गरेर नै नेता नेपाल बूढानीलकण्ठको छलफलमा गएको बताउनुभएको छ । ‘उहाँ सोधेरै जानुभएको हो’ प्रचण्डको भनाइ उदृत गर्दै प्रमुख सचेतक हितराज पाण्डे भन्नुुहुन्छ, ‘माधवजीहरू हामीसँगै हुनुहुन्छ, गठबन्धन तलमाथि हुन्न।’
यता, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय राजनीतिमा विचार पु¥याएर चल्नुपर्ने बताउनुहुन्छ ।
पछिल्लो भेटवार्ताबारे आफु केही नबोल्ने उहाँले बताउनुभयो । आज एक ‘कार्यक्रममा बोल्दै, पत्रकारहरु म बोल्दा चिप्लीनुहुन्छ र न्युज बनाउला भनेर सोच्नुभएको होला तर मेरो बोलि चिप्लीदैन नेपालले भेटवार्ताको प्रसंग उठाउनुभएन ।
यता सत्ता समीकरणमा, उता विपक्षी खेमाको बैठकमा सहभागी हुनुले माधव नेपाल अहिले ठूलै छटपटीमा हुनुहुन्छ। नेकपा एसले नेतृत्व गरेको सुदूरपश्चिम सरकारलाई पूर्णता दिन नसघाएको, कर्णाली र कोशीमा एमालेको नेतृत्वमा आफ्नो दललाई सहभागी नगराएको, राजनीतिक नियुक्तिमा बेवास्ता गरेको, सरकारका महत्वपूर्ण निर्णय लिँदा आफूसँग परामर्श नगरेको लगायत अध्यक्ष नेपालका प्रधानमन्त्री प्रचण्डसँग गुनासा रहेका छन् ।