काठमाडौं। नेपाल प्रेस युनियनले पत्रकार महासङ्घले सार्वजनिक गरेको सदस्यता सूची सच्याउन माग गरेको छ। युनियनले आज एक विज्ञप्ति जारी गर्दै महशासंघले सार्वजनिक गरेको सदस्यता सूची विधान बमोजिम नभएकोले तत्काल सच्याएर विधि, प्रक्रिया र विधान बमोजिम मात्र निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको हो।
युनियनका महासचिव दिलीप पौडेलद्वारा जारी विज्ञप्तिमा महासङ्घको विधानअनुसार शाखा र प्रदेश समितिले पठाएको सदस्य सूचीलाई बेवास्ता गर्दै विधि, प्रक्रिया, विधान मिचेर सार्वजनिक भएको सदस्यता सूची प्रेस युनियनले अस्वीकार गर्ने उल्लेख गरिएको छ।
महासङ्घका अध्यक्ष र महासचिवद्वारा हस्ताक्षर गरी सार्वजनिक भएको सदस्यता सूचीप्रति युनियनको गम्भीर ध्यानाकर्षण भएको भन्दै सक्रिय पत्रकारहरूलाई बाहिर राखेर निश्चित समूहको स्वार्थमा सदस्य थप गरी सार्वजनिक गरिएको सदस्यता अन्यायपूर्ण रहेको जिकिर गरिएको छ ।
‘महासङ्घको विधान र महाधिवेशनको म्यान्डेट अनुसार शाखाबाट सिफारिस भएका सदस्य सूचीलाई महासङ्घकै सङ्गठन समिति र शुद्धीकरण समितिको संलग्नता विना नै गलत बाटोबाट सूची तयार पारिएकाले प्रेस युनियनले असहमति जनाएको हो’ विज्ञप्तिमा भनिएको छ ।
विधान, विधि र प्रक्रिया अनुसार महासङ्घकै शाखाहरू र प्रदेश समितिले पठाएको सदस्यता कायम गर्न माग गर्दै युनियनले सदस्यता विवाद निरूपण नगरी निर्वाचन प्रक्रिया अघि बढाइए उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महासंघनै हुने चेतावनी दिएको छ।
महासङ्घको निर्वाचन यही जेठ २६ गतेका लागि तय गरिएको छ। सदस्यता विवादका कारण अहिलेसम्म निर्वाचन तालिका भने सार्वजनिक भएको छैन।