काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनाउने संसदीय समितिको कार्यादेश तयार गर्न गठित कार्यदलको बैठकमा नयाँ प्रस्ताव अघि सारेको छ।
आज सिंहदरबारमा बसेको बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेका सहकारीका विषयमा छानबिन गर्ने गरी समिति बनाउनुपर्ने माग गरिएको कांग्रेसका सहमहामन्त्री जीवन परियारले जानकारी दिनुभयो ।
यस्तै, सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका विषयमा अध्ययन गरेर के कस्तो अवस्थामा छन् भन्ने बारेमा सुझाव दिने कार्यादेश हुनुपर्ने कांग्रेसको माग छ ।
परियारले गोरखा मिडिया नेटवर्क्स प्रालिलगायत कम्पनीमा भएको रकम अपचलनका विषयमा पनि अनुसन्धान गरेर सहकारीका सञ्चालक, सञ्चालक समिति, प्रबन्ध निर्देशक, व्यवस्थापकलाई कानुनबमोजिम कारबाही गर्नुपर्ने भनाइ राखेको बताउनुभयो।
उहाँले गृहमन्त्रीको नाम तोक्नुपर्ने अडान कायमै रहेको बताउँदै सत्तापक्षले अब नयाँ प्रस्ताव ल्याउने जानकारी दिएको जानकारी दिनुभयो। कांग्रेसको प्रस्तावपछि कार्यादलका सदस्यहरू शीर्ष नेताहरूसँग छलफल गरी फेरि बैठक बस्ने तयारीमा छन् ।