काठमाडौं । प्रदेश नं. दुईमा नेकपाका नेताहरुका भिडमा तल्लोस्तरको आरोप प्रत्यारोप चलेको छ । विषेश गरेर पार्टीका नेताद्धय सत्यनारायण मण्डल र मातृका प्रसाद यादवको गुठका बीचमा अति नराम्रो आरोप प्रत्यारोप चलिरहेको हो ।
दुई नेता र उनीहरुको समर्थकहरुका बीचमा विगत देखि नै विवाद हुदै आएकोमा केही दिन अगाडि मुकेश चौरासियाको हत्यापछि थप विवाद बढेको हो ।
नेकपाको प्रदेश दुईका इन्चार्ज समेत रहनु भएका मण्डलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्षको नेतृत्व गर्नुभएको छ भने केन्द्रीय सदस्य यादवले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र बरिष्ठ नेता माधव नेपाल पक्षको नेतृत्व गर्नुभएको छ ।
चौरासियाको हत्याका विषयमा पनि एकले अर्कालाई हत्याको आरोप लगाउदै आएका छन् । चौरासियाको हत्याका बारेमा किटानी जाहेरी दिन पनि ओली तथा मण्डल गुटले रोकेर झण्डै दुई हप्तामा मात्रै जाहेरी दर्ता भएको यादवको भनाई छ ।
एकलौटी राज्यसत्ता कब्जा गरेको, विधि र कानुनको शासनको ध्वज्जी उडाएको, चरम गुटबन्दी गरेको ओली–मण्डलप्रति यादवले आरोप लगाउनु भएको छ ।तर नेता मण्डलले भने यादवको आरोप अस्विकार गर्दै यादवले भाँडभैलो मच्चाएको र आफुलाई काम गर्न नदिएको आरोप लगाउनु भएको छ ।
नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग उहाँले भन्नुभयो, मातृका प्रसाद यादव पागल हो, उसका कुरा नपत्याउनु ।
उहाँले घुमाउरो तरिकाले पार्टीका तत्कालिन केन्द्रीय सदस्य मोहम्मद आलमको हत्या यादवको नेतृत्वमा भएको आरोप पनि लगाउनुभयो ।
नेता मण्डलले मातृकाको विगत हेर्न आग्रह गर्दैै मातृकाले फुर्ति लगाउन र अरुलाई दोषी देखाउन नसुहाउने दावी गर्नुभयो । यादवका समर्थकहरुले आफुलाई कुटपिट गरेको आरोप पनि नेता मण्डलले लगाउनु भएको छ । मातृका र उहाँका समर्थकहरुले अनेक गरेर आफुहरुलाई दुःख दिएको गुनासो पनि उहाँले गर्नुभयो । उहाँले अति सहेको र अव चाहिं हद भएको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।
ओली पक्षीय नेता मण्डलले पिडा मिश्रीत स्वरमा भन्नुभयो, एकताको नामा पार्टीलाई बन्धक बनाइरहनु हुदैन, यसरी पार्टी चल्दैन र चलाउन सकिदैन ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालप्रति लक्षित गर्दै उहाँले बेलुका एउटा कुरा गर्ने, भोलीपल्ट विहान अर्को कुरा गर्नेहरुका कारण पार्टी भद्रगोल भएको आरोप लगाउनुभयो ।नेता मण्डलले पार्टीमा भद्रगोल गराउन प्रचण्डलाई माधव नेपालले उचाल्ने गरेको र नेपालको कुरा प्रचण्डले पत्याउने गरेको टिप्पणी गर्नुभयो ।
तत्कालिन माओवादीका अध्यक्ष प्रचण्डले २५ बर्षसम्म अध्यक्ष भएको र माधव नेपालले १४ बर्षसम्म एमालेको नेतृत्व गरेको स्मरण गराउदै उहाँले निर्वाचित ओलीलाई उनीहरुले नै काम गर्न नदिएको आरोप लगाउनुभयो ।उहाँले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई दुवै पदबाट हटाएर देखाउन प्रचण्ड– नेपाल समूहलाई चुनौती पनि दिनुभयो ।