काठमाडौं। कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया नागरिकता किर्ते प्रकरणमा पक्राउ परेपछि विभिन्न तर्क वितर्क शुरु भएका छन्। सिरोहिया पक्राउ प्रकरणले प्रेस स्वतन्त्रतामाथि धावा बोलिएको पत्रकारका कतिपय संघसंगठनहरुले दाबी गरेका छन् भने सत्ता पक्षले यसको बचाउ गरेको छ।
व्यापारी र श्रमजीवी पत्रकारलाई एउटै तराजुमा राख्न नमिल्ने भन्दै रास्वपाले विज्ञप्तिनै जारी गरेको छ। सिरोहियाले दुईवटा नागरिकता नम्बर प्रयोग गरी विभिन्न ठाउँमा लाभ लिएको आरोप लागेको छ।
वरिष्ठ पत्रकार युवराज घिमिरेले कानूनको नजरमा कोहीपनि ठूलो सानो नहुने भएपनि पक्राउको प्रक्रिया नमिलेको दाबी गर्नुभयो। तर, सञ्चारमाध्यमको दम्भमा जेपनि गर्न नमिल्ने उहाँको तर्क छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयवावु सिवाकोटीले गृह मन्त्री रवि लामिछाने एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डको गोटी बनेको आरोप लगाउनु भएको छ।
बुढा नेतालाई विस्तापित गर्छु भन्दै राजनीतिमा आएका लामिछानेले उनै पुराना तथा बुढा नेताको ईसारामा आफैलाई खाडलमा हाल्ने काम गरिरहेको तर्क नेता सिवाकोटीको छ। उहाँले ओली र प्रचण्डले रविको काँधमा बन्दुक राखेर पड्काएको टिप्पणी दिनुभयो।
नेकपा एमालेका नेता लीलानाथ श्रेष्ठले कैलाश सिरोहियालाई दोहोरो नागरिकता लिएको आरोपमा पक्राउ गरिएको बताउनुभयो। सिरोहियामाथि दोहोरो नागरिकता भएको अभियोगमा मुद्दा चलाउनको लागि पक्राउ गरिएको भन्ने बुझिएको बताउँदै उहाँले प्रेसको दुहाई दिन नमिल्ने तर्क गर्नुभयो।
सिरोहियाले दोहोरो नागरिकता नम्बर प्रयोग गरेर विभिन्न क्षेत्रमा लगानी गरेको आरोप छ। विभिन्न चरणमा मिडियाको दुरुपयोग गरी डर, त्रास र धम्की दिने गरेको समेत बुझिएको छ।
पछिल्लो समय गृहमन्त्री रवि लामिछानेको सहकारी ठगी प्रकरण भन्दै कान्तिपुरमा सिरिज आउने गरेको थियो। यसैको बदलास्वरुप आफूलाई पक्राउ गरेको उहाँको आरोप छ।