काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले कांग्रेसमाथि धम्की दिएर तर्साउने नखोज्न चेतावनी दिएको छ। सोमबार संसद् भवनस्थित ल्होत्से हलमा बसेको संसदीय दलको बैठकपछिको पत्रकार सम्मेलनमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले यस्तो बताउनुभएको हो ।
उहाँले प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा विश्वासको मत लिने क्रममा कांग्रेसलाई धेरै सहयोग गरेको उल्लेख गरेको भन्दै कांग्रेसले पनि नेकपा माओवादी केन्द्रलाई पनि उत्तिकै सहयोग गरेको बताउनुभयो । उहाँले कांग्रेसलाई माओवादीले भोटको राजनीति शुरु गरेपछि मात्रै सहयोग गरेको भए पनि कांग्रेसले जंगलमा हुँदादेखि माओवादीलाई सहयोग गरेको बताउनुभयो ।
उहाँले माओवादीलाई जंगलबाट संसद्मा ल्याउने काम कांग्रेसले गरेको बताउनुभयो। उहाँले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर कांग्रेसलाई तर्साउन नखोज्न चेतावनी दिनुभयो ।
लेखकले भन्नुभयो, ‘सम्माननीय प्रधानमन्त्रीजीले मैले नेपाली कांग्रेसलाई धेरै सहयोग गरेको छु। आज नेपाली कांग्रेसले जे गर्यो, त्यसका लागि इतिहासमा भोलिका दिनमा मूल्य चुकाउनुपर्ला भन्नुभयो। मैले सम्मानित आदरणीय नेता, मैले धेरै आदर पनि गर्छु, उहाँलाई विनम्रताका साथ आग्रह गर्दछु। तपाईंले त हामीलाई भोटको राजनीतिमा आइसकेपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौँ। तपाईंलाई त जंगलबाट यहाँ राजनीतिमा ल्याउने कांग्रेस हो। बिर्सिनु भयो। हतियार उठाएर यो सत्ता हतियारकै बलमा परिवर्तन गर्छु भनेर हिँड्नुभएको तपाईंलाई शान्तिमा कसले ल्याएको हो। तपाईं र तपाईंको पार्टीलाई शान्तिमा रूपान्तरण गरेर नेपालको एउटा राजनीतिक दलमा स्थापित गर्न कांग्रेसको सहयोग र भूमिका छैन ? यस्तो गैरजिम्मेवारपूर्ण कुरा गर्ने। भोलिका दिनमा मूल्य चुकाउनुपर्ला ? के चुकाउनुपर्छ ? तपाईँहरू गैरजिम्मेवार भएर निरंकुशतातिर जाने, सहकारीको रकम हिनामिना भइसक्यो। फिर्ता गराउने कार्यक्रम र कार्ययोजना छैन। कारबाही गर्ने योजना छैन। नेपाली कांग्रेसका विरुद्धमा गैरजिम्मेवारपूर्ण ढंगबाट लाञ्छना लगाउने कुरा र बोल्ने कुरा बन्द गर्नुस्। धेरै धम्क्याएर र तर्साएर काँग्रेस धम्किने पार्टी होइन।’ उहाँले संसद्मा आज भएका गतिविधि शोभनीय नरहेको कांग्रेसको ठहर रहेको बताउनुभयो।
यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पदीय गरिमा अनुसार भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । कांग्रेसको अवरोधकाबीच घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि कांग्रेसले आपत्ति जनाएको हो ।
प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अझ समय बाँकी हुँदाहुँदै अवरोधकाबीच सोमबारै विश्वासको मत लिने जबरजस्ती गरिएको कांग्रेसको धारणा छ ।