काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसपटक पनि विश्वासको मत पाउनेमा ढुक्क रहेको बताउनुभएको छ।
आज माओवादी केन्द्रको पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक पुस्तक विमोचन कार्यक्रममा उहाँले आगामी जेठको ७ गते आफूले चौथो पटक विश्वासको मत लिन लागेको उल्लेख गर्दै चौथोपटक मात्रै नभै जति पटक लिनुपरे पनि विश्वासको मत प्राप्त हुने जिकिर गर्नुभयो।
प्रधानमन्त्री प्रचण्डले विश्वासको मत आउँदैन की भन्ने चिन्ता नगर्न पनि आग्रह गर्नुभयो। सहकारीसँगको विषयलाई लिएर संसद अवरुद्ध भइरहेको भन्दै आइतबार बिहानसम्म सहज रुपबाट संसद सञ्चालन हुने दिशामा अघि बढ्ने विश्वास लिएको बताउनु भयो।
उहाँले आफूले संसदको अवरुद्ध हटाउन केही दिन यता छलफल गरिरहेको उल्लेख गर्दै सहमतिको तहबाट समाधान निकाल्ने योजना रहेको बताउनुभयो। उहाँले संसद सहज रुपमा अघि बढेसँगै नीति तथा कार्यक्रम पनि सहज रुपमा अघि बढ्ने र विश्वासको मत लिन पनि सहज हुने बताउनुभयो।